प्रचण्ड’ले भने: सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजी–खोजी हान्ने खेलमा लागेको छ - Chaitanya News
  • 2026-07-04
  • 09:53:14
  • शनिबार,आषाढ २०, २०८३
  • प्रचण्ड’ले भने: सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजी–खोजी हान्ने खेलमा लागेको छ

    प्रचण्ड’ले भने: सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजी–खोजी हान्ने खेलमा लागेको छ

    काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजी(खोजी हान्ने खेलमा लागेकोसमेत आरोप लगाएका छन्।

    पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

    उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारबाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको आरोप लगाए।

    ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाईँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के काँग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौँ,’ उनले भने, ‘तर तपाईँहरूले काँग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजी–खोजी हान्नुभएको छ।

    सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिँदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको ‘प्रचण्ड’ले बताए। एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढी पहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैँले भ्रष्टाचारीको संरक्षकको रूपमा प्रस्तुत हुँदै आएको टिप्पणी गरे।