काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन भएको छ। सरकारले यो अवधिमा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व उठाएको हो। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।
जसअनुसार असोज महिनामा ८१ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यसअघि भदौ मसान्तसम्म दुई महिनाको अवधिमा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो।
अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। यो आधारमा हेर्दा यो अवधिको राजस्व सङ्कलन वृद्धि १३.३० प्रतिशत बढी हो।
असोज महिनामा भने अघिल्लो वर्ष ७८ अर्ब ३ करोड ८० लाख रुपैयाँले राजस्व सङ्कलन भएको थियो। यो आधारमा चालु आर्थिक वर्षको असोज महिनाको राजस्व सङ्कलन ४.९१ प्रतिशत मात्रै बढी हो।
यस्तो वृद्धिदर साउन र भदौ महिनामा क्रमशः २०.११ प्रतिशत र १५.१८ प्रतिशत थियो। यो वर्ष साउन महिनामा मात्रै ९४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ बराबरको राजस्व उठेको थियो जुन अघिल्लो वर्ष ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँमा सीमित भएको थियो।
त्यस्तै, यो वर्षको भदौमा ७१ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको थियो जुन अघिल्लो वर्ष ६२ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको थियो।
![]()
यस्तो छ खर्चको अवस्था:
सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो। यसमध्ये पहिलो तीन महिनामा ३ खर्ब २९ अर्ब २० करोड ११ लाख रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको १७.७ प्रतिशत बराबर हो।
यो अवधिमा चालु खर्चतर्फ २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख रुपैयाँ, पुँजीगततर्फ २९ करोड ३७ लाख ४६ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको तुलनामा क्रमशः २०.१५ प्रतिशत, ८.३४ प्रतिशत र १९.०५ प्रतिशत बराबर हो।
अनुदान शून्य, अन्य आम्दानी पौने पाँच अर्ब:
तीन महिनाको यो अवधिमा सरकारले दातृ निकायबाट कुनै पनि अनुदान रकम प्राप्त गर्न सकेको छैन। वर्षभरिमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबरको अनुदान ल्याउने लक्ष्य राखेकोमा यसको उपलब्धि शून्य देखिएको हो। अघिल्लो वर्षको यही अवधिमा सरकारले ६१ अर्ब ८० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको कार्यालयले जनाएको छ।
त्यस्तै, यो अवधिमा ४ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको अन्य प्राप्तिहरू गरेको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष यस्तो प्राप्ति १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो। यस्तो प्राप्ति अन्तर्गत विदेशी सम्पत्तिमा गरिएका लगानीको प्रतिफल, क्षतिपूर्ति लगायतका विषय समावेश हुने गर्दछन्।