काठमाडौँ– चाडवाडको समयमा पनि बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित कर्जा माग नहुँदा बैंकको ब्याजदर क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि तोकेको ब्याजदर अनुसार यस्तो अवस्था देखिएको हो।
नयाँ महिनाका लागि तय गरिने ब्याजदर अघिल्लो महिनाको मसान्तसम्म प्रकाशन गरिसक्नुपर्ने व्यवस्था बमोजिम सबै बैंकहरुले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेका छन्। यस अनुसार १० बैंकहरूले ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० मध्ये बाँकी १० वटा बैंकले भने नयाँ महिनाको ब्याजदरलाई अघिल्लो महिनासँग स्थिर छ। यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएको पाइएको छैन।
यस्तो छ बैंकहरूको नयाँ ब्याजदर
कुमारी बैंक:
कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ। कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको हो।
राष्ट्रिय वाणिज्य बैंक:
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ। अब उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ४.०० प्रतिशत कायम भएको छ।
कृषि विकास बैंक:
कृषि विकास बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजलाई ०.०६५ प्रतिशत विन्दुले घटाएको छ। कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ।
नबिल बैंक:
नबिल बैंकले साधारण बचत खाता र एकवर्ष अवधिका सबै निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ। यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याजदर दिनेछ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक:
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले साधारण बचत खाता र एकवर्षे व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ। संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ।
यस अनुसार कात्तिकका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक:
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ। कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिनेछ।
हिमालयन बैंक:
हिमालयन बैंकले यो पटक सबै प्रकारका ब्याजदर घटाएको छ। बचत खाताको ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई एक–एक प्रतिशत विन्दुले घटाएको छ। अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.७५ प्रतिशत र ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल एसबीआई बैंक:
नेपाल एसबीआई बैंकले यो महिना ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन। बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.३५ प्रतिशत र ४.३५ प्रतिशत ब्याजदर तोकेको छ।
एभरेस्ट बैंक:
एभरेस्ट बैंकले यो महिना सबै प्रकारका ब्याजदरलाई यथावत् राखेको छ। यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.१५ प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ।
प्रभु बैंक:
प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याज दिनेछ।
लक्ष्मी सनराइज बैंक:
लक्ष्मी सनराइज बैंकले बचत खातालाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत दुवै मुद्दती खातामा ०.५० प्रतिशतले ब्याजदर घटाएको छ। नयाँ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ।
ग्लोबल आईएमई बैंक:
ग्लोबल आईएमई बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेको छ। यस अनुसार बचत खाता, व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई क्रमशः ३ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत कायम भएको छ।
सिटिजन्स बैंक:
सिटिजन्स बैंक कात्तिक महिनाका लागि बचत खातामा ०.००५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ। व्यक्तिगत मुद्दती खातामा ०.४० प्रतिशत र संस्थागत मुद्दती खातामा ०.५० प्रतिशत ब्याज घटाएको छ। यस अनुसार बैंकले कात्तिक महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.००५ प्रतिशत, ५.७५ प्रतिशत र ४.०० प्रतिशत ब्याजदर कायम गरेको छ।
प्राइम कमर्सियल बैंक:
साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेर व्यक्तिगत र संस्थागत मुद्दती खातामा ०.२५ प्रतिशत विन्दुले ब्याज घटाएको हो। आगामी महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.२५ प्रतिशत ब्याज दिनेछ।
एनएमबि बैंक:
एनएमबि बैंकले बचत तथा एकवर्षे मुद्दती खाताको ब्याजदरमा कुनै पनि परिवर्तन गरेको छैन। यस अनुसार कात्तिक महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.५० प्रतिशत र ४.५० प्रतिशत ब्याजदर यथावत् रहनेछ।
एनआईसी एसिया बैंक:
एनआईसी एसिया बैंकले बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राख्दा व्यक्तिगत मुद्दती खाताको ब्याजदर १.४५ प्रतिशत विन्दुले घटाएको छ। अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.२७ प्रतिशत, ४.१५ प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ।
सिद्धार्थ बैंक:
सिद्धार्थ बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ। व्यक्तिगत र संस्थागत मुद्दती खाता ब्याजदरलाई भने क्रमशः ०.२५ र ०.५० प्रतिशत विन्दुले घटाएको छ। अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.७५ प्रतिशत ब्याज दिने जनाएको छ।
सानिमा बैंक:
सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ। बैंकले नयाँ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.४० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ।
माछापुच्छ्रे बैंक:
माछापुच्छ्रे बैंकले सबै प्रकारका खाताको ब्याजदर कात्तिक महिनामा लागि यथावत् राखेको छ। अघिल्लो महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.५० प्रतिशत र ४.७५ प्रतिशत ब्याज दिनेगरी तालिका प्रकाशन गरेको थियो।
नेपाल बैंक:
नेपाल बैंकले सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ। बैंकले कात्तिक महिनामा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ४.५५ प्रतिशत र ३.३० प्रतिशत ब्याजदर कायम गरेको छ।
उल्लेखित बैंकहरूको सार्वजनिक गरेको ब्याजदरमध्ये साधारण बचत खाता र एक वर्षे व्यक्तिगत मुद्दती खाता तथा सोही अवधिको संस्थागत मुद्दती खाताका लागि तोकिएको ब्याजदर हुन्।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरू एकै प्रकारको खातामा दुई प्रतिशत विन्दुसम्मको अन्तर राख्न पाइन्छ। त्यस्तै, बचत खाताको न्यूनतम र मुद्दती खाताको अधिकतम ब्याजदर पनि पाँच प्रतिशत विन्दुभन्दा धेरै हुन नहुने केन्द्रीय बैंकको निर्देशन छ। रेमिट्यान्स निक्षेपका हकमा भने एक प्रतिशत विन्दुले थप ब्याज दिनसक्ने व्यवस्था छ।
![]()
यी हुन् सबैभन्दा धेरै र कम ब्याज दिने बैंक:
नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले सर्वाधिक ३.२७ प्रतिशत ब्याजदर तोकेको छ। अधिकांश बैंकहरुले भने यसलाई ३ प्रतिशतको न्यूनतम विन्दुमा झारेका छन्।
त्यस्तै, व्यक्तिगत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ६.५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ। यो खातामा एभरेस्ट र एनआईशी एसिया बैंकले सबैभन्दा कम ४.१५ प्रतिशत ब्याजदर तोकेका छन्।
त्यस्तै, संस्थागत मुद्दती खातामा माछापुच्छ्रे बैंकले तोकेको ४.७५ प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ। यस्तो खातामा सबैभन्दा कम एनआईशी एसिया बैंकले ३ प्रतिशत ब्याज तोकेको छ।