दसैँमा कस्ता–कस्ता परिकार कसरी पकाउने ? - Chaitanya News
  • 2026-05-04
  • 04:25:03
  • आइतबार,बैशाख २०, २०८३
  • दसैँमा कस्ता–कस्ता परिकार कसरी पकाउने ?

    दसैँमा कस्ता–कस्ता परिकार कसरी पकाउने ?

    दसैँ खुसी र उमंगको पर्व हो। यो पर्वमा विशेषतः मीठो परिकारका खानामा जोड दिइन्छ । शाकाहारी र मांसहारीले कस्ता परिकारको प्रयोग गर्ने ? मीठा–मीठा परिकार कसरी पकाउने
    ? कस्ता मसलाको प्रयोग गर्ने ? कति समय पकाउने ? यी विषयमा धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले दसैँमा प्रयोग गरिने नेपाली परिकार पकाउने विधिलाई हामीले समेटेका छौँ ।

    विशेषतः खाना तीन प्रकारका हुन्छन् । भागवत् गीतामा पनि खानालाई तीन प्रकारमा विभाजन गरिएको छ ।

    सात्विक:

    सात्विक शाकाहारी खाना हो । शाहाकारी खाना शरीर र दिमागका लागि अत्यन्त राम्रो हुन्छ । मानिसमा दया, माया, शान्ति, संयमताको भाव सात्विक खानाबाट प्राप्त हुन्छ । जस्तैः हरियो सागपात, फलफूल, कोसा, गेडागुडी, दही दूध र घिउ आदि पर्दछन् ।

    राजसिक:

    राजसिक खानाले शरीर र दिमागमा उत्तेजना बढाउँछ । यो खानाको फाइदा बेफाइदा दुवै हुन्छ । खुसीको भाव जगाउन प्रेरित गर्ने भएकाले अधिकांशले राजसिक खाना प्रयोग गर्छन् । यो खाना बिरुवा र जनावरबाट प्राप्त हुन्छ ।

    तामसिक:

    तामसिक खानाको फाइदा बेफाइदा हुँदैन । तामसिक खाना राक्षसहरूले खाने पनि भनिन्छ । यो पनि बिरुवा र जनावरबाट प्राप्त हुन्छ । तामसिक खानाले मानिसमा क्रोध, अहंकार पैदा हुन्छ ।

    दसैँमा प्रयोग गरिने नेपाली परिकार:

    दसैँमा सबैभन्दा बढी राजसिक खाना प्रयोग गरिन्छ । राजसिक खानामा मासुको प्रयोग गरिने परम्परा छ । मासुका विभिन्न परिकार बनाइन्छ । खसीको टाउकोदेखि खुट्टासम्मको परिकार बनाइन्छ । जस्तैः टाउको फ्राई, खुट्टाको झोल, मासुको झोल, फोक्सो र कलेजोको परिकार र भुटन । चिकेनको पापाङ्ग्राको पनि परिकार बनाइन्छ ।

    कस्तो मासुको प्रयोग गर्ने ?

    – ताजा मासु ल्याउने
    – राम्रोसँग सफा गर्ने
    – केही बेर मासुलाई उमाल्ने
    – उमालेको मासुलाई फेरि पखाल्ने, त्यस गर्दा किटाणु नष्ट हुन्छ
    – सानो पिस बनाउने
    – एक दिनका लागि फ्रिजमा राख्ने
    – एक दिनमा खाइनसके फेरि बेसार हालेर फ्राई गर्ने
    – फ्राई गरेको मासु ४८ घन्टासम्मका लागि खान सकिन्छ ।

    खसीको मासुको परिकार:

    प्रेसर कुकरमा तोरीको तेल हाल्ने । तेलमा दुईवटा सुकुमेल, दुईवटा ल्वाङ, एउटा तेजपत्ता, मसिनो पारेर प्याज हालेर भुट्ने । अनि अदुवा र लसुन पिसेर हाल्ने ।

    अदुवा र लसुनको काँचो बासना आउन छोडेपछि मासुको पिस हाल्ने । १० मिनेट चलाउँदै छोप्दै गर्ने । त्यसपछि नुन हालेर अर्को दुई मिनेट ढकनले छोप्ने ।

    त्यसपछि जिरा, धनियाँ, रातो खुर्सानी र बेसारको धूलो हालेर चलाउने । फेरि टमाटर हालेर मासुलाई चलाउने । अनि गरम मसला हालेर ३ देखि ४ सिटी लगाउने । कराईमा पकाएको छ भने ४० मिनेट पकाउने ।

    भुटनको परिकार:

    भुटनलाई राम्रोसँग सफा गर्ने । केही बेर उमालेर त्यसलाई सानो पिस बनाउने । त्यसपछि तेलमा १० मिनेट फ्राई गर्ने । नुन, बेसार, खुर्सानी, धनियाँ, जिरा र मिट मसलाको धूलो हाल्ने । मसला हालेपछि थप तीनरचार मिनेट भुट्ने । त्यसपछि मसिनो प्याज हालेर फ्राई गर्ने ।

    फोक्सोको परिकार:

    फोक्सोमा पाइप हुन्छ, जसलाई ट्राचिया भनिन्छ । फोक्सोको पाइपबाट पानी हालेर सफा गर्ने । मसलाको घोल बनाउने । खुर्सानी, जिरा र धनियाँ पाउडर हालेर घोल बनाउने ।

    सफा गरेको फोक्सोको पाइमा घोल भर्ने । अनि २५ मिनेटसम्म दालचिनी हालेको पानीमा बोइल्ड गर्ने । त्यसपछि झिकेर सानो पिस बनाउने । पकाउने ताप्केमा तोरीको तेलमा बेसार हालेर फोक्सोको पिस हाल्ने । आवश्यक मात्रामा नुन हाल्ने । अन्तिममा प्याज हालेर भुट्ने ।

    चिकेनको परिकार:

    तोरीको तेलमा जिरा, मेथी, सुकुमेल र ल्वाङ हालेर डढाउने । त्यसपछि चिकेनको पिस हाल्ने । ७ मिनेटपछि मासु सेतो भएर आउँछ । अनि बेसार र प्याज हाल्ने ।

    अर्को २ मिनेटपछि जिरा, धनियाँ र सुकेको खुर्सानीको धूलो हालेर चलाउने । थप ३ मिनेटपछि अदुवा र लसुन पिसेर हाल्ने । त्यसपछि टमाटर हाल्ने । टमाटर गलेपछि आवश्यक मात्रामा पानी हालेर ७ मिनेट जति पकाउने ।

    चिकेन फ्राईको परिकार:

    काँचो मासुमा जिरा, धनियाँ र खुर्सानीको धूलो हालेर माड्ने । १० मिनेटपछि एक केजीमा एउटा अन्डा फुटाएर हाल्ने । अनि अदुवा र लसुनको पेस्ट हाल्ने । फेरि तेल हालेर मोल्ने । १ घन्टा त्यत्तिकै राख्ने । तेलमा आधा काँचो हुने गरी मासु पकाउने । त्यसपछि मासु झिक्ने ।

    फेरि तेलमा जिरा, सुकेको खुर्सानी, प्याज र टमाटर हालेर केही बेर चलाउने । अनि फ्राई गरेको चिकेनको पिस हालेर ५ मिनेट चलाउने । थोरै पानी हाल्ने । लेदो भएपछि खानाका लागि उपयुक्त हुन्छ । यो परिकार चिउरासँग खान राम्रो हुन्छ ।

    चिकेन पाङ्ग्रा:

    पाङ्ग्रालाई राम्रोसँग सफा गर्ने । अनि सानो पिस बनाउने । त्यो पिसलाई बोइल गर्ने । तेलमा मेथीको दाना डढाउने । त्यसपछि बेसार हालेर १० मिनेट भुट्ने । नुन, धनियाँ र जिराको धूलो हाल्ने । त्यसपछि प्याज र टमाटर हाल्ने । अनि दुई मिनेटजति भुटेपछि चिकेन पाङ्ग्रा खानका लागि योग्य हुन्छ ।