काठमाडौँ– खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजो (आइतबार)देखि खसीबोका तथा च्याङ्ग्रा बिक्री सुरु गरेको हो कम्पनीले यो वर्ष १८ सय खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ ।
जसमध्ये १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा रहेका छन्। यी खसीबोका र च्याङ्ग्रामा बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइएको छ।
बिक्री थालेको पहिलो दिनमा १५० वटा खसीबोका र ४० वटा च्याङ्ग्रा बिक्री भएको खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। बजारको मूल्यभन्दा खाद्यले सहुलियत मूल्यमा बिक्री गरेकाले अपेक्षाअनुसार बिक्री भइरहेको उनले बताइन्।
‘पहिलो दिन व्यापार राम्रो भएको छ। अब झन् धेरै व्यापार बढ्छ। यो वर्ष खाद्यले ल्याएका खसीबोका र च्याङ्ग्रा दसैँको अवधिमै सकिने देखिएको छ,’ सुवेदीले भनिन्।
कम्पनीले गत वर्ष २ हजार वटा खसीबोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो। कुल च्याङ्ग्राामध्ये ४७ च्याङ्ग्रा बाँकी थिए। तीमध्ये कुकुरको टोकाइबाट २५ च्याङ्ग्रा मरेका थिए भने बचेका २२ वटा च्याङ्ग्रा मूल्य घटाएर १ हजार १५ रुपैयाँ प्रतिकिलोका दरमा दसैँपछि बिक्री गरिएको थियो।
कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट खर्च गरेको छ। यो वर्ष अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत कम हो। अघिल्लो वर्ष खरिद गरिएका सबै च्याङ्ग्रा बिक्री नहुँदा ठुलो घाटा बेहोर्नु परेकाले यो वर्ष च्याङ्ग्राको परिमाण घटाइएको कम्पनीको भनाइ छ।
कम्पनीले परिमाण घटाएकै वर्ष दसैँमा खसीबोकाको मासु खपत बढ्ने देखिएको छ। बाढी पहिरोले राजमार्ग अवरुद्ध भएका कारण धेरैजसो मानिसहरू घर जान नपाएर काठमाडौँमै दसैँ मनाउनु पर्ने अवस्था आएको छ। यसले काठमाडौँमा मासुको खपत बढी हुने व्यवसायीहरूको अनुमान छ।
गत वर्षको तुलनामा यो वर्ष ५ देखि १० हजार खसीबोकाको माग बढ्ने देखिएको नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी बताउँछन्। ‘धेरै मानिस काठमाडौँमा हुँदा ५ देखि १० हजार वटासम्म खसीबोकाको माग बढ्ला भन्ने अनुमान हो,’ खड्गीले भने।
खड्गीकाअनुसार अघिल्ला वर्षहरूमा ३५ हजारदेखि ४० हजार वटा खसीबोका खपत हुँदै आएको थियो। अहिले बजारको अवस्था हेर्दा ५० हजार हाराहारीमा खसीबोका खपत हुने देखिएको छ। निजी व्यापारीले ३० देखि ३५ हजार खसीबोका र करिब ३ हजार च्याङ्ग्रा ल्याउने उनको भनाइ छ। खड्गीले भने अनुसार माग बढे निजी र सरकारी निकायले ल्याउने खसी बोकाले माग धान्न नसक्ने देखिएको छ।
कति खपत हुन्छ भन्नेबारे अनुमान गर्न नसकिरहेको कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवन खतिवडा बताउँछन्। ‘मानिसहरू दसैँ मनाउन गाउँ नगए पनि बाढी पहिरोका कारण धेरै मानिस शोकमा डुबेको अवस्था पनि छ। यति नै खपत होला भन्न सक्ने अवस्था छैन,’ खतिवडाले भने।
कलंकी खसी बजारमा दसैँका लागि खसीबोका दैनिक २ हजार २२ सयको हाराहारीमा आइरहेका छन् । ‘अहिले खासै व्यापार छैन। अब दुई दिनभित्रमा धेरै माग बढ्छ। हामी ३६५ दिन नै खसीबोका ल्याएर बिक्री गर्ने मान्छेलाई माग पुरा गर्न नसकिएला भन्ने डर छैन। माग भए अनुसार कारोबार बढाउने छौँ। अभाव होला भन्ने छैन,’ खतिवडाले भने।
खतिवडाका अनुसार कलंकीको खसीबोका बजारमा मात्रै २५ हजार खसीबोका आउने अनुमान छ। यस्तै २ हजार च्याङ्ग्रा र ५०० भेडा ल्याउने तयारी छ।
मूल्य कति ?
खाद्यले यो दसैँका लागि जिउँदो खसीबोका मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्रा १ हजार २३० निर्धारण गरेको छ। तर १० रुपैयाँ छुट गरी खसीबोकाको मूल्य ६६० रुपैयाँ र च्याङ्ग्राको मूल्य १ हजार २२० रुपैयाँमा बिक्री गरिरहेको छ।
गत वर्ष कम्पनीले सुरुवातमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २५० रुपैयाँ तोकेको थियो। तर सो मूल्यमा बिक्री नभएपछि खसीबोकामा प्रतिकिलो २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङ्ग्राको २५ रुपैयाँ सहुलियत दिएर १ हजार २२५ रुपैयाँमा बिक्री गरेको थियो ।
जसअनुसार गत वर्षको तुलनामा खाद्यले यो वर्ष खसीबोकाको मूल्य १० रुपैयाँ बढीमा बिक्री गरिरहेको देखिन्छ।
व्यवसायीहरूले भने खसीबोका प्रतिकिलो मूल्य ६५० देखि ७३० सम्म बिक्री गरिरहेका छन्। यस्तै च्याङ्ग्रा १ हजार २०० देखि १ हजार ३०० सम्म बिक्री भइरहेको छ। गत वर्षकै मूल्यका आधारमा यो वर्ष पनि बिक्री गरिरहेको कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाको भनाइ छ।