३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत - Chaitanya News
  • 2026-04-22
  • 23:39:36
  • बुधबार,बैशाख ०९, २०८३
  • ३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

    ३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत

    कठमाडौं- पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एक पटक मात्रै जीत हासिल गरेको थियो ।

    विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित भएका हिक्मतबहादुर बिष्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल भएका छन् ।

    तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिष्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए । यही मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गरे ।

    विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्र्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गरेका थिए भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए । साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गरेका थिए ।

    विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गरेका थिए । तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ ।

    ‘प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ’, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भने, ‘३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुशी बनाएको छ ।’ वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले बताए ।