नेपाल बैंकले दियो प्रधानमन्त्री उद्धार कोषमा दुई करोड - Chaitanya News
  • 2026-06-29
  • 02:38:24
  • आइतबार,आषाढ १४, २०८३
  • नेपाल बैंकले दियो प्रधानमन्त्री उद्धार कोषमा दुई करोड

    नेपाल बैंकले दियो प्रधानमन्त्री उद्धार कोषमा दुई करोड

    काठमाडौँ– नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ।

    नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा।चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरे। बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो।

    सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे। उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे।

    यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो।

    मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी छ। रासस