काठमाडौँ– प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन्।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।
नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुँदैछ।
अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।
संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो।