सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साढे ५ महिनाको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्।
आज (शुक्रबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले १९ सम्पादित कार्य सार्वजनिक गरेका हुन्।
उनले भनेका छन्, ‘प्रदेश सरकार अन्तर्गतका सबै निकायहरूको वार्षिक कार्ययोजना स्वीकृत गराइ कार्ययोजना अनुसार कार्य सञ्चालन गरी समयमै प्रगति हासिल गर्न ९ बुँदे साझा प्रतिबद्धता गरिएको छ। सोही कार्ययोजना अनुसार कार्यसम्पादन भइरहेको छ। कार्ययोजना तथा प्रतिबद्धता अनुसार भौतिक मन्त्रालय र ऊर्जा मन्त्रालय अन्तर्गत ठेक्का लगाउनुपर्ने संख्या ३५१ मध्ये झण्डै ६० प्रतिशतभन्दा बढी आयोजनाको ठेक्का आह्वान भइसकेको छ भने बाँकी ठेक्का आह्वानको अन्तिम चरणमा रहेको छ। जसमा ३१० मध्ये भौतिक पूर्वाधार मन्त्रालयले १० वटै जिल्लाका २१५ वटा आयोजनाको ठेक्का आव्हान गरिसकेको छ।’