काठमाडौँ– चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरूमार्फत राहत सामग्री उपलब्ध गराएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरूलाई राहत सामग्री प्रदान गरेको हो।
चीनको विदेश विभागले १ करोड ९० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए। काँग्रेसका मधु आचार्य, एमालेका गोपाल खनाल, नेकपा एकीकृतका रामकुमार भट्टराई र माओवादीका प्रतिनिधिले राहत ग्रहण गरे। अन्य दलमार्फत पनि राहत उपलब्ध गराउने चिनियाँ प्रतिनिधिले जानकारी दिए।
राहत सामग्रीमा घरायसी कामका किट्स, ठुला टेन्ट, स्वास्थ्य उपकरण, मिनरल वाटर, खाद्यान्न लगायत छन्। आज प्रदान गरिएको सामग्री काठमाडौं १२ का पीडितलाई वितरण गरिने नेता आचार्यले जानकारी दिए।
उनका अनुसार दलहरूको सिफारिसमा अन्य क्षेत्रका लागि समेत चीनले सहयोग प्रदान गर्नेछ। कार्यक्रममा चीनको सद्भाव र सहयोगका लागि नेताहरूले धन्यवाद दिएका थिए।