मनसुनमा नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा भारी गिरावट, श्रीलंकाली बढे दोब्बर - Chaitanya News
  • 2026-06-29
  • 02:36:09
  • आइतबार,आषाढ १४, २०८३
  • मनसुनमा नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा भारी गिरावट, श्रीलंकाली बढे दोब्बर

    मनसुनमा नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा भारी गिरावट, श्रीलंकाली बढे दोब्बर

    काठमाडौं– मनसुन सिजनमा भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा भारी गिरावट आएको छ।

    नेपालले यसपालि वर्षायाममा अधिक प्राकृतिक विपत्ति र सडक दुर्घटनाको सामना गर्नुपर्‍यो। जसमा भारतीय नागरिक समेत प्रभावित भए। यसको असर पर्यटक आगमनमा देखिएको छ।

    नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२४ को एक महिनामा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक नेपाल आएका छन्।

    २०२३ को सोही महिनामा भारतबाट नेपाल भ्रमणमा आउने पर्यटक २८ हजार ६ सय ९४ थिए। गत वर्षको तुलनामा यस वर्ष १९।९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ।

    नेपाल र कोलम्बो सिधा उडानको प्रभाव श्रीलंकाली पर्यटक आगमनमा भने सकारात्मक देखिएको छ। बौद्धमार्गी मुलुक श्रीलंकाबाट सेप्टेम्बरमा ४ हजार ९ सय १५ पर्यटक नेपाल आए। गत वर्ष सेप्टेम्बरमा ३ हजार ११ मात्र आएका थिए।

    यो वर्ष सेप्टेम्बरमा समग्र पर्यटक आगमन भने पछिल्लो चार वर्षयताकै उच्च देखिएको छ। बोर्डका अनुसार सेप्टेम्बरमा ९६ हजार ३ सय ५ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    २०२३ सेप्टेम्बरमा ९१ हजार १२ जनामात्र पर्यटक आएका थिए। २०१९ मा ९२ हजार ६ सय पर्यटक नेपाल आएको तथ्यांक छ। यस हिसाबले चार वर्ष यताकै उच्च संख्यामा यस महिना पर्यटक आगमन भएको हो।

    सन् २०२० मा ५ सय ८४, २०२१ मा ९ हजार ९ सय ७ र २०२२ मा ५८ हजार ३ सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

    यस वर्ष सेप्टेम्बरमा भारतीय पर्यटक संख्या नै पहिलो नम्बरमा छ। दोस्रो नम्बरमा अमेरिकी पर्यटक छन्। अमेरिकाबाट यस महिनामा १० हजार ८४ आएका छन्। चीनबाठ ८ हजार ४२, अस्ट्रेलिया ५ हजार ३८, बेलायत ४ हजार ४ सय ९३, बंगलादेश ४ हजार १ सय ३, जर्मनी २ हजार ७ सय ४, दक्षिण कोरिया २ हजार ३ सय ५१ र मलेसियाबाट २ हजार २ सय ८० पर्यटक आएका छन्।

    नौ महिनामा ८ लाख १६ हजार पर्यटक

    २०२४ को समग्र विवरण अनुसार यस वर्ष पर्यटक आगमन ८ लाख नाघेको छ। जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन्। तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन्।

    सन् २०२४ को कुन महिना आए कति पर्यटक?

    जनवरी : ७९,१००
    फेब्रुअरी : ९७,४२६
    मार्च : १,२८,१६७
    अप्रिल : १,११,३७६
    मे : ९०,२११
    जुन : ७६,७३६
    जुलाई : ६४,५९९
    अगस्ट : ७२,७१९
    सेप्टेम्बर : ९६,३०५