काठमाडौँ– संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई उडानमा नयाँ रेकर्ड कायम भएको छ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो। मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन्।
आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल्र) भएका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फ ५६ अवतरण र ५५ उडान भएका छन्। प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए। एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ।
यसअघि अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप थियो। विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए। अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए।
विमानस्थलका प्रवक्ता शेर्पाले आजका लागि आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताए। अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनको भनाइ छ। हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन्।
वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुले पनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ। यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो। एक्कासि हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ। दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ। आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए। रासस