चैतन्य खबरले उपसचिवमा सिफारीस भएका उपसचिवहरुसँग अन्तर्वार्ताको सेसन सुरु गरेको छ । निजामती सेवाका विभिन्न तह पार गर्दै उपसचिवसम्म आईपुग्दा कति कठीनाइहरु भोग्नु परेको थियोरु कसरी तयारी गर्नु भएको थियो र कसरी तयारी गर्दा सफलता प्राप्त हुन्छ रु भन्ने विषयलाई केन्द्रित राखेर चैतन्य खबरका लागि निर्मला कडायतले आज भरखरै उपसचिवमा सिफारीस हुनुभएका उपसचिव तारानाथ पनेरुसँग गरेको संवादको सम्पादित अंशः
तपाँई निजामति सेवाको जिम्मेवार तह उपसचिव पदमा नाम निकाल्न सफल हुनुभएको छ यो सफलतालाई कसरी लिनुहुन्छ ?
म उपसचिवमा सिफारीस हुन पाउदा एकदमै खुसी अनूभूति भइरहेको छ। डोटी जिल्लामा जन्मिएर, दुर्गम जिल्लामा बसेर सेवा गर्दै, पछिल्लो समयमा काठमाडौंको एउटा बन्द कोठामा बसेर दुःख, कष्ट र सघर्ष गदैं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिवसम्म आइपुग्दा धेरै खुसी अनि आनन्द महसुस गरिरहेको छु । यसको श्रेय आमाबुबा, परिवाजन, समाज, गुरुवर्ग र शुभेक्च्छुक सबैलाइ दिन चाहन्छु।
तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नुभयो, लोकसेवा तयारी गरिरहनुभएका परीक्षार्थीलाई सफलता प्राप्तिका लागि के गर्नु पर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?
संघीयता पश्चात पछिल्लो समय दरबन्दी बढेका छन् । संघीय सरकारका अलाव स्थानीय स्तरमै पनि थुप्रै दरबन्दी छन् । प्रदेश स्तरमा स्थापना भएका कार्यलयमा पनि दरबन्दी छ । पुरानो कर्मचारीले मात्रै सबै संस्था धान्न सम्भव छैन । युवाहरुले लोकसेवाको तयारी गरेर विभिन्न तहमा नाम निकाल्न सक्ने अहिले राम्रो अवसर छ । त्यसैले लोकसेवा तयारी गरेर सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवामा लाग्न म युवा साथिहरुलाई अनुरोध गर्दछु । कुनै सोर्सफोर्स पावर विना आफ्नो क्षमताले नाम निकाल्न सकिने भएकाले पनि लोकसेवाको तयारी गर्नु उपयुक्त हुन्छ । विभिन्न सामाग्रीहरुको अध्ययन गर्नुपर्ने हुन्छ । उपसचिव जस्तो माथिल्लो तहहरुमा सिमित पाठ्य पुस्तक मात्रै पढेर हुदैन । सम्बन्धित पदको पाठ्यक्रम बमोजिमको विश्लेषणात्मक, संश्लेषणात्मक ज्ञानको आवश्यकता पर्दछ । त्यसका लागि बजारमा पाइने किताबमा मात्रै सिमित नभएर सम्बन्धित विषयक्षेत्रको विषयगत मन्त्रालय, संवैधानिक आयोगहरु जस्तैस् महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग आदिका वार्षिक प्रतिवेदनहरु, समिक्षाहरु, राष्ट्र बैंकको मौद्रिक नीति, समितिका प्रतिवेदनहरु, सम्बन्धित विषय विज्ञहरुका पत्रपत्रिकामा प्रकाशित लेखहरु लगायत विभिन्न सन्दर्भ सामग्रीको पाठ्यक्रमले उल्लेख गरेका विषयमा समिक्षात्मक ढंगले पढ्ने र लेख्ने गरी तयारी गर्नु पर्दछ। मिल्दो टपिकको आर्टिकलहरु, जस्तै लोकसेवा आयोग पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, प्रशासनविद् भिमदेव भट्ट लगायत पूर्व अवकाश प्राप्त सचिव ज्यूहरुको आर्टिकलहरु पढ्ने बानीको विकास गनुपर्छ । आत्मविश्वासका साथ पढ्नुपर्छ । पहिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन पनि सक्छ, तर निरन्तर असफलतापछि अवश्य एक पटक सफलता हाँसिल गर्न सकिन्छ । खप्तडबाबाले भनेजस्तै सफलताको लागि पूर्ण आत्मविश्वास र नियमपूर्वक अभ्यास तथा दृढ संकल्प आवश्यक पर्दछ ।
पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ?
पढाईको सुरुवात कसरी गर्दा सजिलो र रुचिलाग्ने विषयबाट सुरुवात गर्नु राम्रो हुन्छ । विस्तारै पढ्ने लेख्ने बानिको विकास हुन्छ । सहायक पद, शाखा अधिकृत, उपसचिव, सहसचिव जुन पदमा आवेदन दिन्छौ सम्बन्धित पदको लागि लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमसँग सम्बन्धित बजारमा पाईने पाठ्यपुस्तकहरु, विभिन्न आयोग वा मन्त्रालयका वार्षिक प्रतिवेदनहरु, पत्रपत्रिकाहरुमा प्रकाशितलेख रचनाहरु, राष्ट्रिय वा अन्तराष्ट्रियअभ्यासहरु आदिको समिक्षात्मक ढंगले पढ्नु राम्रो हुन्छ। पढाई र लेखाइ दुवैलाई संगसंगै निरन्तर रुपमा अगाडि बढाउनु पर्छ, पढाईलाई विचमा छोड्यौं भने पढाई बिग्रीन्छ । पढाईमा निरन्तरता र लगनशीलता आवश्यक हुन्छ, सफलताका लागि धैर्यता गर्न सक्नु पर्छ । लेखन शुद्ध र सफा लेखनसिपको पनि आवश्यकता पर्दछ । समय व्यवस्थापन पनि महत्वपूर्ण विषय हो, परीक्षामा समय व्यवस्थापन गर्न नसकेकाले पनि असफल हुने गरेको पाइन्छ । परीक्षामा निर्धारित समय हुन्छ, ३ घण्टाको समयमा हामीले आफुले जानेको बुझेको कुरालाइ प्रश्नले मागेको विषयमा फोकस गरेर निर्धारित समयभित्र उत्तर दिनुपर्ने हुन्छ।
पुस्तकको छनोट कसरी गर्ने?
पुस्तकको छनोट गर्दा सबै भन्दा पहिले त सम्बन्धित पदको लागि निर्धारित पाठ्यक्रम जो छ त्यो अनुसार बजारमा उपलब्ध सम्बन्धित विषय क्षेत्रका विज्ञहरुले लेखेका पाठ्यपुस्तकहरु लिने, आफुलाई सजिलो लाग्ने पुस्तकबाट सुरु गर्ने, सुरुमा नै अप्ठेरो ढंगबाट पढ्नु हुँदैन्। पुस्तक छनोट गर्दा आफुले जे तयारी गरिरहेका छौं त्यही क्षेत्रको पुस्तक छनोट गर्नुपर्छ । माथिल्लो तहको पढाईका लागि एक–दुई पुस्तक मात्रै पढेर सम्भव हुँदैन् त्यसका लागि बजारमा पाईने अधिकांस पाठ्यपुस्तकहरुलाई संकलन गरेर आफ्नो ढङ्गले त्यसलाई बुझ्ने, पढ्ने र लेख्ने बानीको विकास गर्नुपर्छ । मैले माथि भने जस्तै सिमित पुस्तकमात्र पढ्ने भन्दापनि सम्बन्धित क्षेत्रका आधिकारिक दस्तावेजहरु प्रतिवेदनहरु पढ्नु राम्रो हुन्छ । जस्तैस् नेपालको संविधान, सोह्रौं योजना, वार्षिक बजेट तथा नीति कार्यक्रमहरु, संवैधनिक आयोग, मन्त्रालय, समितिका प्रतिवेदनहरुको समीक्षात्मक ढंगबाट पढेर सम्बन्धित विषयमा स्पष्ट धारणा वा नलेज बनाउनु पर्छ। कुनै विषयको धेरै, कुनै विषयको कम तयारी गर्नु राम्रो हुदैन । पाठ्यक्रममा उल्लेख भएका सबै विषयको सन्तुलित र व्यवस्थित तयारी आवश्यक छ ।
दिमागमा बस्ने गरि पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ?
यहि फिक्स समय भन्ने त हुदैन । आफ्नो फुर्सद कतिवेला हुन्छ त्यो अनुसार पनि हुन्छ । उपसचिवको तयारी गर्ने अधिकांस साथिहरुले जागिर गर्ने र दिउँसो कार्यालय जानुपर्ने भएकाले बिहानको फ्रेस मुडमा पढ्नु नै उपयुक्त हुन्छ । कार्यालयमा कामगर्दा प्राप्त अनुभवजन्य ज्ञान लाई पनि परीक्षामा काम लाग्छ ।
पढेको कुरा कसरी सम्झने?
पढ्ने बेला घोक्ने भन्दा पनि बुझेर पढ्ने, दोहोर्याएर पढ्ने र पढेको विषयवस्तुलाई बुँदागत रुपमा डायरीमा टिपेर पढ्दा राम्रो हुन्छ । पढेको विषय वस्तुमा रुचि लगाएर पढ्नु पर्छ । पढ्दा सम्बन्धित विषयवस्तुका सन्दर्भ सामग्री अध्ययन गर्दा सारसंक्षेपमा बुझेर बुँदागत टिपोट गरी पढाइ र लेखाइलाई संगठित बनाउनुपर्दछ । जुन पदको लागि प्रतिस्पर्धा गर्ने हो त्यो पदको भूमिकामा आफुलाई राखेररसम्झेर पढ्दा पढेको कुरा राम्रो सँग लामो समय सम्झन सकिन्छ ।
अरु भन्दा भिन्न र उत्तर लेखनी राम्रो कसरी गर्ने ?
परीक्षामा अनावश्यक कुराहरु नलेखेर प्रश्नले मागेको कुराहरु मात्रै लेख्ने, सके सम्म उत्तरलाई छोटो र बुझिने गरेर स्पष्टलेख्नु पर्दछ । प्रश्नको अंकभार अनुसार पनि लेखाई छोटो वा लामो हुन सक्छ । प्रश्न बुझेर मात्रै उत्तर लेख्नु पर्दछ । हतार गर्नु हुँदैन । आत्तिनु हुँदैन । प्रश्नको सुरुवातमा भुमिका वा पृष्ठभुमी दिएको भएमा प्रश्न पढ्दा मुख्य विषय अन्डरलाईन गर्ने, प्रश्नको खण्ड नछुट्याएको भए छुट्याउने गर्नु राम्रो हुन्छ । प्रश्न पढेर राम्रो सँग बुझेर माईन्ड म्याप वा फ्रेमवर्क दिमागमा छिटो बनाएर अनि लेख्दा राम्रो हुन्छ ।
लिखित परीक्षामा कस्तो लेखन शैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ ?
मैले माथि पनि भने परीक्षामा प्रश्नले मागे जति उत्तर मात्रे लेख्नु पर्छ । ३ घण्टाको समय हुन्छ त्यो समयलाई व्यवस्थापन गरेर छोटो अनि सबैले बुझ्ने सरल उत्तर लेख्नु पर्दछ । कठिन नबुझिने वाक्य गठन गर्नु हुँदैन । धेरै साथिहरु विषय प्रवेश लेख्ने कि नलेख्ने भन्नेमा दोधार हुन्छन् त्यो चाँही लेखे पनि हुन्छ, नलेखे पनि हुन्छ, वा विषयको मुल शिर्षक लेखेर सिधै प्रश्नले मागेको उत्तर लेख्दा पनि हुन्छ। विषय प्रवेश लेखे ३–४ लाइन भन्दा बढि लेख्नु हुँदैन् । त्यसमा धेरै समय खर्च गर्नु हुदैन् । एउटै प्रश्नका पनि विभिन्न खण्ड वा पुच्छ्रे प्रश्न हुन्छन ति सबै खण्डको शिर्षक हालेर सिलसिलेवार ढंगबाट कुनै पनि खण्ड नछुट्ने गरि उत्तर लेख्नु पर्दछ । प्रश्नका सबै खण्डहरू बिच अन्तरआबद्धता हुदा अझै राम्रो हुन्छ । अन्त्यमा सकारात्मक भाव सहितको सारसंक्षेप सहितको १–२ लाइन वयेफर्वाड् वाक्य लेखेर उत्तरको निचोड वा निश्कर्ष लेख्दा राम्रो हुन्छ । समस्या वा सो का कारण र समाधान वास्तविक कार्यान्वयनयोग्य सुझावहरु लेख्नुपर्दछ । प्रश्नको उत्तर बहुआयामिक ढंगवाट लेख्दा राम्रो हुन्छ ।
बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?
बुँदागत भित्र पनि विश्लेषणात्मक र संश्लेषणात्मक ढंगले नै लेख्नुपर्छ । अर्थ नै नलाग्ने धेरै छोटो वाक्य पनि लेख्नु हुँदैन । वाक्य अफिसियल भाषामा अर्थपुर्ण, सरल ढंगबाट लेख्दा उपयुक्त हुन्छ । आवश्यकता अनुसार उदाहरण, तथ्य तथ्याङ्क वा तर्कले पुष्टि गर्ने गरि लेख्नु राम्रो हुन्छ । सैद्धान्तिक र व्यवहारिक ९सम्बन्धित कामको अनुभवजन्य० ज्ञानलाई व्यवस्थित ढंगबाट उत्तरलेख्दा उपयुक्त हुन्छ ।
समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
समय व्यवस्थापन गर्नको लागि हामीले पुर्व परीक्षाहरु ९प्री टेस्टहरु० पनि दिनुपर्ने हुन्छ । यसले अन्तिम परीक्षामा हुने कमीकमजोरीलाई केलायर सुधार गर्ने अवसर दिन्छ । पुर्व परीक्षा वा क्लासहरु लिँदा फाईदा हुन्छ । राम्रोसँग पढेर बुझेर परीक्षामा सहभागी हुनुपर्छ । एउटा प्रश्नलाई जति समय दिएको हुन्छ त्यो समय भित्र नै त्यसको उत्तर लेखिसक्नु पर्ने हुन्छ, एउटा प्रश्नको समय अर्को प्रश्नमा दिँदा समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । र एउटा प्रश्नको समय अर्को प्रश्नमा दिए त्यसले सफल भन्दा पनि असफल हुँनसक्ने सम्भावना बढाउँछ ।
कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने कतिपयले राम्रो अक्षर भएकै कारण नम्बर राम्रो पाउने विश्वास पनि गरिरहेका हुन्छन् । अक्षर र शुद्धाशुद्धिले नतिजामा फरक पार्छ कि पार्दैन ?
शुद्धाशुद्धि, अक्षर मात्रै राम्रो भएर त हुँदैन् विषयवस्तु पनि लेखेको हुनुपर्यो । प्रश्नले मागेको विषयवस्तुलाई सिलशिलेवार ढंगबाट भाषिक शुद्धता सहित राम्रो अक्षर बनाएर संगठित तवरबाट लेख्दा उत्कृष्ट हुन्छ । यसले राम्रो नतिजा दिन्छ । लोकसेवाले पनि भाषिक शुद्धतालाई उत्तरपुस्तिका परीक्षणको आधारमा राखेको छ । परीक्षामा लेख्दा खेरि लोकसेवाको नियम भित्र लेख्नुपर्छ । लेख्दा धेरै केरमेट गर्नु हुँदैन त्यसले गर्दा प्रश्नको सहि उत्तर दिएको भएपनि नम्बर काटिने सम्भावना हुन्छ ।
लोकसेवा तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाँहानु हुन्छ ?
अविचलित पाइलाहरुले नै गन्तव्यमा पुर्याउँछन्। चाँडै हार मान्नु हुँदैन् । हामीले प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ नतिजामा ध्यान दिनुहुँदैन् । प्रक्रिया सहि भयो भने नतिजा पनि सहि हुन्छ । यदि प्रक्रियामा नै त्रुटी भयो भने नतिजा पनि सहि हुँदैन् । आफुलाई मन पर्ने र सहज लाग्ने विषयबाट सुरु गरेर जटिल विषयमा प्रवेश गर्नुपर्छ । अध्ययन तालिका बनाएर पढ्दा राम्रो हुन्छ । आफ्नो ध्यान भड्काउने कुरालाई छेउमा राख्नु हुँदैन । आफैमा अनुशासित हुँनुपर्छ । यो सबै समय हो समयसँगै सबैकुरा राम्रो हुन्छ तर मेहनत गर्न चाहीँ छोड्नु हुँदैन । नियमपुर्वक महेनत गर्यौ भने सफल अवश्य भइन्छ ।