एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र, ओलीमाथि दबाब बढ्दै - Chaitanya News
  • 2026-05-23
  • 13:41:43
  • शनिबार,जेठ ०९, २०८३
  • एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र, ओलीमाथि दबाब बढ्दै

    एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र, ओलीमाथि दबाब बढ्दै

    काठमाडौं– नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस थप चर्किएको छ। नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षाका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि खुलेर प्रश्न उठ्न थालेपछि पार्टीभित्र नयाँ राजनीतिक समीकरण बन्न थालेको संकेत देखिएको हो।

    गुण्डुस्थित ओली निवासमा शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि जारी रहेको छ। बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि सचिवहरूले धारणा राखिरहेका छन्। तर बैठकको मुख्य केन्द्र भने पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय बनेको छ।

    शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष ओलीलाई पद छोडेर पार्टीलाई नयाँ ढंगले अघि बढाउन मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। उनीहरूले पार्टीभित्र बढ्दो असन्तुष्टि, कमजोर बन्दै गएको संगठन र घट्दो जनविश्वासलाई ध्यान दिँदै नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।

    तर ओलीले भने राजीनामाको माग स्वीकार गर्नुको सट्टा पुनर्गठनको आवाज उठाउने नेताहरूमाथि कारबाही हुन सक्ने संकेत गरेपछि बैठक तनावपूर्ण बनेको बताइएको छ। त्यसक्रममा अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा बादल पक्षधर नेताहरूबीच अन्य नेतासँग चर्काचर्कीसमेत भएको स्रोतको दाबी छ।

    पार्टीभित्र अहिले ओलीको समर्थन क्रमशः कमजोर बन्दै गएको चर्चा छ। महासचिव शंकर पोखरेल र वरिष्ठ नेता विष्णु पौडेलसमेत वैकल्पिक नेतृत्वको पक्षमा देखिन थालेपछि सचिवालयभित्र ओली थप दबाबमा परेको नेताहरूको भनाइ छ।

    सचिवालयका केही सदस्यहरूका अनुसार शनिबारको बैठकमा ओलीको विकल्पबारे औपचारिक रूपमा समेत बहस उठ्न सक्ने सम्भावना रहेको छ। एक नेताले “अब पार्टीलाई नयाँ दिशा दिन नेतृत्व परिवर्तन आवश्यक भएको निष्कर्ष धेरै नेतामा देखिएको” बताएका छन्।

    १९ सदस्यीय सचिवालयमा अहिले ओलीको खुला समर्थनमा सीमित नेतामात्र देखिएको चर्चा छ। बदलिँदो आन्तरिक समीकरणसँगै एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस आगामी दिनमा अझ निर्णायक बन्ने संकेत देखिएको छ।