धुलिखेल– योजना आयोग पूर्व अध्यक्ष डा. विश्व नाथ पौडेलले वित्तीय प्रणालीमा बढी रकम हुँदा संचित रकम जति आयातको भुक्तानीमा जाने बताएका छन्।
चैतन्य एकेडेमीले धुलिखेल लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनले अर्थतन्त्रमा बढी रकम हुँदा पैसा जति आयातको भुक्तानीमा जाने भन्दै त्यसको प्रभावस्वरूप वित्तीय प्रणालीमा तरलता घट्ने जोखिम भएको बताए ।
डा. विश्व पौडेलले आफ्नो प्रस्तुतिका क्रममा राजस्व पनि आयातमा निर्भर हुनु अर्को समस्या भएको बताए । देशमा विदेशी मुद्रा तिरेर किन्न सक्ने क्षमता हुँदा पनि आन्तरिक उत्पादन भएन भने जोखिम यथावत् हुन्छ। देशमा उत्पादनमा भन्दा व्यापारमा नाफा धेरै भए पनि निर्यात प्रबद्र्धनको दिगो उपायका रुपमा रहेको उत्पादनका क्षेत्रमा व्यवसायीहरू आकर्षित हुनसकेका छैनन् । जसको समस्या अर्थतन्त्रमा दीर्घकालसम्म पर्नसक्ने देखिन्छ ।
यो जोखिम घटाउने उपाय देशभित्रको उत्पादन वृद्धि हो। वार्षिक २० अर्ब डलरको आयात पनि समस्या होइन, यदि त्यो आयातले देशभित्र मूल्य अभिवृद्धि (भ्यालु एडिसन) गर्छ भने। कच्चा पदार्थ ल्याएर देशभित्र उत्पादन गर्न सकेको भए हाम्रो जीवनस्तर माथि भइसक्थ्यो। हामीले त खालि आयात गर्ने र उपभोग गर्ने मात्रै गर्यौं। मूल्य अभिवृद्धि हुन सकेन। मुलुकभित्र पूँजी निर्माण हुन नसकेर आयात र खपत मात्रै हुने स्थिति अर्थतन्त्रका लागि सधैं जोखिमपूर्ण हो उनले भने।
माननीय अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना भएको यस कार्यक्रममा नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, डा. हिरामणी घिमिरे, नेपाल सरकारका पूर्व मुख्य सचिव डा.विमल कोईराला र पूर्व मन्त्रीहरु, सांसद, नेताहरु, प्रतिष्ठित उधमिहरु लगायत विज्ञ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।