नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जान्छ : अर्थ मन्त्री पौडेल - Chaitanya News
  • 2026-06-29
  • 00:18:40
  • आइतबार,आषाढ १४, २०८३
  • नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जान्छ : अर्थ मन्त्री पौडेल

    नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जान्छ : अर्थ मन्त्री पौडेल

    धुलिखेल–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार  गम्भीर भएको बताएका छन्।

    चैतन्य एकेडेमीले धुलिखेल लज रिसोर्टमा आयोजना गरेको हरित अर्थतन्त्र र तीन तहका सरकारबीचको समन्वय विषयक १२औं राष्ट्रिय नीति संवादमा बोल्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए।

    “आर्थिक र वित्तीय सूचकहरू सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भने, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।” उनले आफूहरूले चाहे जसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए। अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाइ थियो ।

    मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए । निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले राखे ।

    “अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईँहरूका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ”, उनले भने, “निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।” चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रूपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए।