काठमाडौँ– चालु आर्थिक वर्ष २०८१–८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार दुई महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भएको छ।
आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड सङ्कलन भएको छ। यो कुल वार्षिक लक्ष्यको ११।७२ प्रतिशत हो। चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।
त्यस्तै गैरकरबाट २१ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको छ। दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान प्राप्त भएको छैन। यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य हो।
दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु शीर्षकमा खर्च भएको छ। १४ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ। वित्तीय हस्तान्तरणमा ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ। दुई महिनामा गरिएको खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत हो।