काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बर्खे अधिवेशन आज मध्य रातिबाट अन्त्य हुँदैछ। गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजसम्म १३० दिन चालू रहेको संसद सचिवालयले जनाएको छ। योबीचमा भएरगरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले आजको बैठकमा संक्षिप्त जानकारी गराएका छन्।
जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बितेको छ। यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतीत गरिएको छ।
यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भयो। जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन छन्।