काठमाडौँ– संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ।
आज (बिहीबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति देखि विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो।
२१ फागुन २०८० मा संसदमा दर्ता भएको विधेयक करिब छ महिनापछि समितिमा छलफलका लागि अघि बढेको हो।
विधेयकमाथि आज सैद्धान्तिक छलफल हुनेछ भने यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने बताइएको छ।
विधेयकमाथि १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।
मुलुक सङ्घीयता प्रणालीमा गएको वर्षौँ भई सक्दा पनि सिङ्गो सार्वजनिक प्रशासन तथा स्थायी सरकारसमेत भनिने कर्मचारीको कानुन ल्याउन नसकेको भन्दै राजनीतिज्ञहरूको चर्को आलोचना हुने गरेको छ। पछिल्लो समय राजनीतिक नेतृत्व तथा कर्मचारी नेतृत्वले ऐनलाई प्राथमिकता दिने बताएसँगै जुन कुनै रूपमा पनि आउन सक्ने झिनो आशा कर्मचारीले राखेका छन्।