काठमाडौँ– काठमाडौँको प्रमुख जिल्ला अधिकारी बन्न गृह मन्त्रालयका सह सचिवहरूबिच प्रतिस्पर्धा सुरु भएको छ। मन्त्रालयका अधिकृतहरूका अनुसार ५ जना सह सचिव काठमाडौँ जाने दौडमा छन्।
सहसचिव जयनारायण आचार्य, प्रेमप्रसाद भट्टराई, डा.भीष्मकुमार भुसाल, कोशहरि निरौला र रामचन्द्र तिवारी काठमाडौँको प्रजिअ बन्ने प्रतिस्पर्धामा छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य प्रतिस्पर्धामा सबैभन्दा अगाडि छन्। उनी जुम्लाका स्थानीय हुन्।
काठमाडौँमा रुचि राख्ने अर्का सहसचिव प्रेमप्रसाद भट्टराई अहिले मोरङका प्रजिअ हुन्। उनले काठमाडौँ जान तीव्र इच्छा देखाएको गृहका अधिकारीहरू बताउँछन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी र अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला पनि काठमाडौँ जाने दौडमा छन्। गृहमन्त्री रमेश लेखक निकट स्रोतका अनुसार काठमाडौँमा कारागार व्यवस्थापन विभागका महानिर्देशक आचार्यलाई पठाउने सम्भावना प्रबल छ।
आकर्षण किन?
काठमाडौँमा प्रमुख जिल्ला अधिकारी हुन निजामती प्रशासनमा ‘शक्तिशाली’ र सत्ता निकट भनेर चिनिएका सहसचिव बिच प्रतिस्पर्धा हुन्छ। करियर भएका र सेवाको अन्तिम अवस्थामा रहेकाहरू समेत काठमाडौँ नै रोज्छन्।
नाम र ‘फेम’ अर्थात ख्यातिका कारण काठमाडौँको प्रजिअ रोजाइमा पर्ने गरेको गृह प्रशासनका अधिकारीहरू बताउँछन्। काठमाडौँमा बसेका एक जना पूर्वप्रजिअ भन्छन, ‘काठमाडौँको कार्यप्रकृत्ति अनुसार सत्तापक्ष र प्रतिपक्षसँग ठोक्किनुपर्छ त्यसबाट सबैसँग समान सम्बन्ध कायम हुने रहेछ।
राजधानीको जिल्ला भएको हुनाले देशभरका सबैसँग सम्बन्ध हुन्छ। काठमाडौँमा कार्यरत प्रमुख जिल्ला अधिकारीलाई राष्ट्रपति र प्रधानमन्त्रीले चिन्ने अवस्था हुन्छ। राज्यको तर्फबाट आयोजित समारोह व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारीको भूमिका हुन्छ।
गृह मन्त्रालयमा लामो समय काम गरेका एक जना सहसचिव भन्छन्, ‘काठमाडौँमा ठुलो कार्यक्षेत्र छ, यहाँको प्रजिअ हुँदा उच्च तहका पदाधिकारी र राजनीतिज्ञहरूसँग पहुँच हुन्छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उद्योगी र ब्यापारीहरुसँग काम गर्न पाउँछन्। त्यसबाट उनीहरूले ‘फाइदा’ लिनसक्ने जानकारहरू बताउँछन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारीको मातहतमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक हुन्छन्। काठमाडौँमा डीएसपीले कमान्ड गर्ने १४ वटा प्रहरी वृत्त छन्। काठमाडौँ परिसर र वृत्तका डीएसपीहरुले पनि प्रजिअसँग समन्वय गरेर काम गर्नुपर्ने संरचनागत अवस्था छ।
सार्वजनिक हित तथा शान्तिविरुद्धको कसुर र जुवासम्बन्धी कसुरका मुद्दाहरू प्रजिअले नै हेर्छन्। मुद्दाको चापका कारण पनि काठमाडौँको प्रजिअ हुन बढ्दो आकर्षण छ।
काठमाडौँमा कार्यरत प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफ्नो कार्यकाल पुरा गरेका छन्। २०८० असार २१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रजिअ भएका बस्नेतलाई १४ महिनापछि गृह मन्त्रालयले सरुवा गर्दैछ।