लोकसेवामा प्रश्नको मूल भाव बुझेर आवश्यकता अनुसार मात्र उत्तरमात्र लेख्नुपर्छ : खकेन्द्रप्रसाद भट्ट - Chaitanya News
  • 2026-06-08
  • 21:59:56
  • सोमबार,जेठ २५, २०८३
  • लोकसेवामा प्रश्नको मूल भाव बुझेर आवश्यकता अनुसार मात्र उत्तरमात्र लेख्नुपर्छ : खकेन्द्रप्रसाद भट्ट

    लोकसेवामा प्रश्नको मूल भाव बुझेर आवश्यकता अनुसार मात्र उत्तरमात्र लेख्नुपर्छ : खकेन्द्रप्रसाद भट्ट

    पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्‍याउने काम स्थगानीय सरकारले गरिरहेका हुन्छन्। कर्मचारीको प्रयाप्तता, जनप्रतिनिधिसँगको समन्वय र समस्याका विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले आज कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रप्रसाद भट्टसँग संवाद गरेकी छन्।

    तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?

    मैले कृष्णपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको चार महिनम भयो।

    चार महिना अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र माहोल कस्तो पाउनु भयो?

    मैले चार महिना अवधिमा जनप्रतिनिधिको राम्रो साथ र सहयोग पाइरहेको छु। नितिगत निर्णय गर्ने कुरा, कानुन बनाइदिनेलगायत अन्य थुप्रै काममा सहयोग पाएको छु। कानुन मिचेर कुनै निर्णय गर्नुपर्छ भन्ने खालको व्यवहार यहाँको जनप्रतिनिधिबाट खेप्नु परेको छैन। त्यसैले यहाँ काम गर्न सहज छ।

    पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ?

    स्थानीय तहमा जनअपेक्षा बढ्दो छ। संघीय सरकार र प्रदेश सरकारका अधिकार क्षेत्रका विषयमा पनि स्थानीय तहसँग जनताको अपेक्षा हुन्छ। विकास योजनादेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजतामा उहाँहरूको अपेक्षा रहन्छ। जनअपेक्षा अनुसार नै सेवा प्रवाहलाई सहजताका साथ प्रदान गर्नेमा हामी पनि प्रतिवद्ध नै छौं।

    तपाईंले पालिकामा प्रशासकीय कार्यशैलीको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?

    सेवाग्रहीको आवश्यकता हेरेर सेवा दिइरहेका छौं। विभिन्न शाखा छन्। विभिन्न तहमा जिम्मेवारी बाँडफाँड गरेका छौं। शाखामार्फत हुने सेवा प्रवाहलाई चुस्त पार्न त्यहाँका समस्या पहिचान हुनेगरि काम थारिरहेका छौं।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?

    कर्मचारीको त अभाव नै छ। दरबन्दी अनुसार कर्मचारी छैनन्। त्यहीभएर हामीलाई काम गर्न गाह्रो छ। जनशक्तिको अभाव भए पनि यहीबाट व्यवस्थापन गरेर जनतालाई सेवा दिइरहेका छौं।

    के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवमह गर्न सकिन्छ लाग्छ?

    दरबन्दी अनुसार कर्मचारी छैनन्। यदि दरबन्दी अनुसार कर्मचारी भइदिए अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्थ्यो भन्ने लाग्छ।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ?

    लोकसेवा प्राज्ञिक क्षेत्र हो। लोकसेवा पास गर्न किताबी ज्ञान त चाहिन्छ नै, त्यसका अलावा अतिरिक्त ज्ञानको पनि आवश्यकता पर्छ। लोकसेवा तयारी गरिरहँदा मनमा अनेक अन्यौलता हुन्छन्। धेरै प्रकारका सोच आउँछन्। त्यसमा नकारात्मक सोच पनि पर्छ। तर, तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। अरु कसैको कुरामा ध्यान नदिई आफ्नो पढाइलाई निरन्तरता दिनुपर्छ।

    कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई?

    तयारी गर्ने त सबैको आ–आफ्नो तरिका हुन्छ। त्यही पनि तयारी गर्दा आफूलाई याद हुन गरी एउटा निश्चित फर्म्याट तयार गर्नुपर्छ। हामीले कलेजमा ब्याख्यात्मक उत्तर दिने भए पनि लोकसेवामा प्रश्नले सोधेको मूल भाव बुझेर चाहिने जति आवश्यक उत्तर दिनुपर्छ। अनावश्यक कुरा थपेर उत्तरलाई लामो पार्नु हुँदैन। समयको व्यवस्थापन गनुपर्छ।