संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छ : माधव नेपाल - Chaitanya News
  • 2026-07-07
  • 21:55:35
  • मंगलबार,आषाढ २३, २०८३
  • संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छ : माधव नेपाल

    संस्कृतिको संरक्षणबाट सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्छ : माधव नेपाल

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन्।

    कृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा शुभकामना दिँदै उनले मौलिक चाडपर्व र संस्कृतिको संरक्षणबाट समाजलाई एक आपसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा सबै जातजातिका समुदायले परम्परागत रूपमा मनाउँदै आएका पर्व संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने उल्लेख गरे।

    सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रको गौरव बढाउने बताउँदै उनले सामाजिक असमानताको अन्त्य गरी पारस्परिक सम्मान, सहअस्तित्व, सद्भाव र एकताको भावनाले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।

    अध्यक्ष नेपालले सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वले विविधतायुक्त नेपाली समाजलाई सामाजिक एवं सांस्कृतिक रूपमा एकता र सहिष्णुताको भावनालाई विकास गर्ने विचार व्यक्त गर्दै सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। रासस