असल संगठनात्मक संस्कृतिको विकास आजको आवश्यकता: तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-05-23
  • 12:35:38
  • शनिबार,जेठ ०९, २०८३
  • असल संगठनात्मक संस्कृतिको विकास आजको आवश्यकता: तोमनाथ उप्रेती

    असल संगठनात्मक संस्कृतिको विकास आजको आवश्यकता: तोमनाथ उप्रेती

    प्रस्तावना
    व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक संस्कृति विकास हुँदै गएको हुन्छ । संंगठनात्मक संस्कृति र संरचना सधै स्थिर हँुदैन । यो समय र वातावरणअनुरूप परिवर्तन हुँदै जान्छ । समाजमा राजनीतिक शासन प्रणाली, आर्थिक विकास नीति, सामाजिक रहनसहन,मुल्य मान्यता, प्रविधि विकास, नागरिकको चेतना र माग निरन्तर परिवर्तन भइरहेको छ ।
    संगठनात्मक कार्यसंस्कृति के हो?

    संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । संस्कृति गतिशील हुन्छ । संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो । यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो ।
    संगठनका व्यक्तिहरूले साझा रूपमा अवलम्बन गरेका व्यवहार, प्रवृत्ति, मूल्यमान्यता,धारणा, आस्था विश्वासलाई संगठनको संस्कृति भनिन्छ । व्यक्तिको पहिचान उसको व्यक्तित्व हो भने संगठनको पहिचान संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति कर्मचारीले बुझेको, विश्वास गरेको र अपनाएको साझा पद्धति हो ।संगठन बहुसंस्कृतिको असल संगम हो । संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ । संगठनात्मक समस्याहरूको व्यवस्थापन समाधान गर्ने तत्व संगठनात्मक संस्कृति हो । संस्कार तथा संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज, राष्ट्र सबैमा प्रभाव पारेको हुन्छ । व्यक्ति वा समुदाय वा समाजमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कलासंंगीत, भाषासाहित्य, रहनसहनलाई संस्कृति भनिन्छ ।संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ । संगठनात्मक व्यवहार कर्मचारीको मनोवैज्ञानिक बुझाइ र काम गराइ हो । संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ ।

    कुनैपनि व्यक्ति, समूह तथा संगठनले कस्तो सोच लिन्छ ? सोहि सोच अनुसार उसले व्यवहार देखाउँछ । त्यहि व्यवहार पटक पटक गरिरहँदा बानीमा परिणत हुन्छ । सधैं प्रयोगमा उसको त्यो बानी अन्तमा संस्कारमा रुपान्तरण बन्न पुग्दछ । त्यही संस्कार एकबाट अर्को व्यक्ति परिवार, पुस्ता, वर्ग, समुहमा सर्दै जान्छ । त्यसैले संस्कार र संस्कृति कस्तो बनाउने भन्दा पनि सोच कस्तो लिने भन्ने महत्वपूर्ण विषय हो ।
    संगठनात्मक संस्कृति आन्तरिक र बाह्य तत्वहरुद्वारा विकास भएको हुन्छ । आन्तरिक तत्वको रुपमा सामान्यतया संगठनात्मक संस्कृति अन्तर्गत संगठनका सदस्यले बोल्ने भाषा, सोच, व्यवहार, कार्यस्थान, कर्मचारीहरुबीचको सम्बन्ध र समन्वय, विद्यमान सूचना प्रणाली र यसको उपयोग, कार्यालयलाई प्रदान गर्ने समय, सरोकारवालाहरुप्रति गरिने व्यवहार, चाप्लूसी र चाकडी, जस्ता पक्षहरु समावेश भएका हुन्छन् त्यसैगरी बाह्रय तत्वको रुपमा संगठनात्मक सँस्कृतिलाई प्रभाव पार्ने पक्षहरुमा संगठनको संरचना, नियन्त्रण प्रक्रिया, रितिरिवाज, हावापानी, संगठनको इतिहास, कानूनी हैसियत, राजनीतिक अवस्था, आर्थिक अवस्था आदि रहेका हुन्छन् ।

    संगठनात्मक संस्कृति उत्पादक हुनुपर्दछ भने अनुत्पादक पक्षहरूमा सुधार हुन आवश्यक हुन्छ । सार्वजनिक सेवाको मूल धर्म जनतालाई सेवा दिनु हो । परिणाममुखी, जनमुखी, टिम उन्मुख, प्रतिस्पर्धी स्वभाव, रणनीतिक चरित्र, अन्वेषण उन्मुख, पारदर्शिता उन्मुख, र सेवाग्राहीमुखी चरित्र आधुनिक संगठनका संस्कृतिको रूपमा विकास भएको छ । आजको नेटवर्क, सम्पर्क र सामूहिकताको युगमा सूचना तथा सञ्चार प्रविधिले डिजिटलाइज्ड जीवनपद्धति विकास गरेको छ । आफ्नो जिम्मेवारी र आफूले लिएको निर्णयप्रति उत्तरदायी बन्ने गुणसंगठनात्मक संस्कृतिमा हुनु पर्दछ । युग अनुकूलको संगठनात्मक संस्कृतिको विकास आजको आवश्यकता हो । संस्कृति परिवर्तनका योजनाबद्ध, अपर्झट, आवधिक वा निरन्तरजस्ता धेरै रणनीतिहरू हुने गर्दछन् । परिवर्तनको प्रतिरोध गर्ने प्रवृत्ति हरेक संगठनका कर्मचारीमा पाइन्छ । संगठनात्मक संस्कृति नेतृत्वको पहुँच पर हुने भए पनि संस्कृति परिवर्तन गर्ने एजेन्ट नेतृत्व नै हो र उसको इच्छाशक्तिमा नै परिवर्तन निर्भर गर्दछ ।

    कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ । संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ । परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन् । संगठनात्मक संस्कृतिले पूरा संगठनलाई लक्ष्य हासिल गर्नका लागि संगठनमा भएको सम्पूर्ण जनशक्तिलाई टिममा रूपान्तरण गर्दछ भने कर्मचारीको कार्यसम्पादन स्तर बढाइ संगठनलाई परिणाम प्राप्त गर्न क्रियाशील पनि बनाउँछ ।
    संगठनात्मक संस्कृति एउटा यस्तो क्रियाशिल तत्व हो, जूनसुक्ष्म तवरबाट एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ ।संगठनात्मक संस्कृतिले संगठनको मान्यता, मूल्य, प्रथा, अभ्यास, मनोवृत्ति र अनुभवहरू समावेश गर्दछ। यस संस्कृतिको उद्देश्य समूहका सदस्यहरू एकअर्का र बाहिरी संसारसँग कसरी सम्बन्ध राख्ने अपेक्षा गरिन्छ भनेर निर्दिष्ट गर्नु हो। संस्कार जन्य कुराहरु तर्क र प्रमाणको रुपमा जुधाउन सकिँदैन । त्यो अदृश्य हुन्छ । तर व्यवहारबाट छर्लङ्ग देखिन्छ । संगठनको उच्च तहमा आसिन कर्मचारीहरु उक्त संगठनको महत्वपूर्ण सम्पतिको रुपमा रहेका हुन्छन् । निजहरुले सम्हालेको पद, जिम्मेवारी तथा तहले निजले संगठनकालागि खेल्न सक्ने भूमिकाको स्तर निक्र्याैल गर्न सकिन्छ । व्यक्तिहरुमा वौदिक तिक्षणता, व्यवस्थापकिय कार्यकुशलता, काम सम्बन्धि विषयको ज्ञान, सिर्जनशिलता, व्यवस्थापकिय कार्यकुशलता, सिक्ने उत्सुकता, सकारात्मक सोच, स्व–निर्णय गर्ने क्षमता तथा चाप्लुसहरुको व्यवहारलाई अध्ययन गरी सत्यतथ्य जान्ने क्षमता हुनु अत्यन्त आवश्यक हुन्छ ।
    नेपालको प्रशासनयन्त्रमा संगठनात्मक कार्यसस्कृति
    नेपालको प्रशासनिक निकायमा तोकिएको भित्रैबाट काम गर्न नरुचाउने, काम गर्न हाकिमको निर्देशन पर्खने, हाकिमसँग राय बझाउन नचाहने, पदानुक्रमलाई आदर गर्ने, उत्तरदायित्व र जिम्मेवारी लिन नतम्सिने,सेवाग्राही नागरिक वा ग्राहकसँग अन्तरक्रिया गर्न नरुचाउन, नयाँ शैली विधि प्रयोगलाई साथ नदिने अर्थात् यथास्थितिमा काम गर्न मन पराउने,टीमवर्क गर्न नरुचाउने, सूचना सेयर गर्न नचाहने, पारदर्शी बन्न हिच्किचाउने, आलोचना सुन्न नचाहने र समन्वय गर्न नरुचाउने प्रकारको संगठनात्मक कार्य संस्कृति रहेको पाइन्छ ।

    त्यसैगरी काम भए पनि नभए पनि व्यस्त भएको देखाउन चाहने, आफूले निर्णय गर्दा अरूलाई सहभागी गराउन नचाहने, बहुसांस्कृतिक परम्परालाई सम्मान गर्ने, अधिकार प्रत्यायोजन हतपती नगर्ने, नागरिकमुखीभन्दा हाकिममुखी, नयाँ कार्यशैली वा नवीन प्रविधिको प्रयोग गरेर कार्य सम्पन्न गर्न अगाडि नसर्ने, केन्द्रीकरणमुखी, बन्द प्रणालीमा काम गर्न सहज मान्ने, समय पालना गर्न उदासीन हुने, भइरहेको कार्यविधिमा काम गर्न रुचाउने, नियम पालना र प्रक्रिया पूरा गर्न चाहने, ढिलो गरी निर्णय लिने, निर्णय गर्दा जोखिम उठाउन नचाहने, नीति निर्माण प्रक्रियामा सहभागी हुन पाउँदा रमाउने अर्थात् राजनीतिज्ञसँग नगिच हुन रुचाउने, परिणाममुखीभन्दा प्रक्रियामुखी, फायल घुमाइघुमाइ पनि प्रक्रिया पु¥याउने र जनताका पीरमर्कालाई आफ्नो जस्तो मान्न नसक्ने ,असंवेदनशीलता नेपालको सार्वजनिक प्रशासनका सांस्कृतिक चरित्र हुन् ।

    उपसंहार
    संगठनात्मक संस्कृति परिवर्तनका लागि कर्मचारीको सोच र व्यवहार बदल्नु आवश्यक रहेको छ । समय र प्रशासकीय वातावरणले नागरिकहरू सार्वजनिक संगठनहरूलाई प्रभावकारी रूपमा सेवाप्रवाह गरेको देख्न चाहेका हुन्छन् । संगठनले कर्मचारीलाई खुसी बनाएको खण्डमा मात्र सेवाग्राहीलाई खुसी बनाउने वातावरण बन्छ भन्ने विश्वास जागृत गर्नुपर्दछ ।निरन्तर रुपमा कर्मचारीलाई सक्षम र परिवर्तनमुखी बनाउनुपर्दछ । सार्वजनिक प्रशासन सर्वप्रथम अधिकारको तथा स्रोतसाधनको प्रयोगप्रति उत्तरदायी हुनुपर्दछ । सार्वजपनक प्रशासनले जनताको पक्षमा उत्कृष्ट कार्य गर्न अनिवार्य संस्कृतिको विकास गर्नु पर्दछ । सार्वजनिक प्रशासनमा नयाँ जिम्मेवारी नयाँ चुनौतीहरू आइरहने भएकाले संगठनात्मक संस्कृतिलाई गतिशील र समय परिस्थितअनुरूप अनुकूल बनाउनु आवश्यक छ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)