काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो।
अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगे २९ रन तथा हर्मित सिंह र स्मित पटेल कुनै पनि रन नजोडी आउट भए।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २–२, सोमपाल कामीले एकएक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे। उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे। इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन्। उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे।
कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए। त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए। कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए। आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए। उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे।
बलिङमा अमेरिकाका शुभम रञ्जने २, मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिए।