कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश
कर्मचारीको नियुक्तिः
कुनै पनि कर्मचारीलाई काम वा पदको जिम्मेवारी दिईनु नै नियुक्ति हो । कुनै पनि संगठनको उद्देश्य प्राप्तिको लागि उक्त संगठनले तोकेको मापदण्ड र चरण पूरा गरि प्राप्त गरेको मानव स्रोतलाई उक्त संगठनमा आवद्व हुनका लागि दिईने आधिकारिक पत्र वा प्रमाण नै नियुक्ति हो । यस्तो नियुक्ति स्थायी,अस्थायी वा करारका रुपमा दिन सकिन्छ। यसरी नियुक्ति पाए पश्चात उक्त कर्मचारी त्यो संगठनको सदस्य हुन्छ भने उक्त संगठमा कार्य गरेबापत उसले तलब भत्ता प्राप्त गर्न थाल्दछ ।
निजामती सेवा ऐन,२०४९ मा भएका नियुक्ति सम्बन्धी व्यवस्था
- ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइनेः
कसैले पनि निजामती कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन ।
- लोकसेवा आयोगको सिफारिसमा नियुक्ति हुनेः निजामती सेवाको पदमा लोकसेवा आयोगको सिफारिसमा मात्र नियुक्त हुने ।
- निजामती सेवाको पदमा नियुक्तिः
- निजामती सेवाको राजपत्रांकित पदमा नेपाल सरकारले नियुक्ति गर्नेछ र त्यस्तो नियुक्तिको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ
- निजामती सेवाको राजपत्र अनंकित पदमा विभागीय प्रमुखले नियुक्ति गर्न सक्नेछ ।
- कार्यालय प्रमुखले आफ्नो र आफ्नो मातहतका कार्यालयका राजपत्र अनंकित र श्रेणीविहीन पदमा नियुक्ति गर्न सक्नेछ ।
- अस्थायी नियुक्तिसम्बन्धी व्यवस्थाः
- लोकसेवा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरूमध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशित गर्नेछ ।
- निजामती सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नुपर्ने भएमा सम्बन्धित मन्त्रालयले लोकसेवा आयोगमा लेखी पठाउनुपर्नेछ ।
- यसरी लेखी आएमा लोकसेवा आयोगले योग्यताक्रमको सूचीमा रहेका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको मागको आधारमा अस्थायी नियुक्ति गर्न सिफारिस गरी पठाउनेछ ।
- सिफारिस भएका व्यक्तिलाई बढीमा ६ महिनासम्मको लागि सम्बन्धित मन्त्रालयले अस्थायी नियुक्ति गर्नेछ ।
- अस्थायी नियुक्ति गरेको जानकारी सम्बन्धित मन्त्रालयले सात दिनभित्र सामान्य प्रशासन मन्त्रालयलाई दिनुपर्नेछ ।
नियमावलीको नियम १६ देखि २० सम्मः
निजामती सेवा नियमावली, २०५० मा नियुक्ति सम्बन्धी भएका व्यवस्थाहरु
दफा १६
- लोकसेवा आयोगको सिफारिश बमोजिम सिफारिश भएका उम्मेदवारलाई सिफारिस पत्र दाखिला भएको मितिले राजपत्रांकित पदको हकमा २ महिनाभित्र र राजपत्र अनंकितको हकमा १५ दिनभित्र अख्तियारवालाले नियुक्त गर्नुपर्ने र त्यस्तो नियुक्तिको सूचना छिटो साधनद्वारा उम्मेदवारलाई दिने
- उम्मेदवारले सूचना नपाएमा वा सूचना फिर्ता आएमा सार्वजनिक पत्रपत्रिकामा १ महिनाको म्याद दिई नियुक्ति बुझ्न आउन सूचना प्रकाशन गरिने
- म्यादभित्र नियुक्ति पत्र बुझ्न नआएमा उक्त सिफारिसमा परेका वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्त गर्न सकिने र यसरी गरिएको नियुक्तिको सूचना नियुक्ति गरेको मितिले १५ दिनभित्र लोक सेवा आयोगमा पठाउनुपर्ने।
नियमावलीको नियम १७
नियुक्ति पत्र दिने वा रद्द गर्ने सम्बन्धी व्यवस्थाः
देहायको अधिकारीले देहायका निजामती कर्मचारीलाई नियुक्ति गरेको वा नियुक्ति रद्द गरेको पत्र दिन सक्नेछ।
- राजपत्रांकित निजामती कर्मचारीलाई सेवा, समूह वा उपसमूह सम्बन्धि मन्त्रालयको सचिव
- राजपत्र अनंकित तथा श्रेणीविहिन कर्मचारीलाई अख्तियारवाला
- कुनै निजामती कर्मचारीलाई नियुक्ति पत्र दिँदा सम्बन्धित अधिकारीले निजले बहाली गर्नुपर्ने मिति समेत तोक्न सक्नेछ।बहाली गर्नको निमित्त कुनै खास मिति तोकिएको भए सोही मितिमा र नतोकिएकोमा पत्र बुझेको मितिले बाटो म्याद बाहेक ३५ दिनभित्र सम्बन्धित कर्मचारीले बहाली गर्नुपर्नेछ।
- आफ्नो काबु बाहिरको परिस्थिति परेको सप्रमाण जानकारी दिएमा बाहेक म्यादभित्र बहाली नगर्ने कर्मचारीको नियुक्तिपत्र नियुक्ति दिने अधिकारीले रद्द गर्न सक्नेछ। त्यसरी नियुक्ति पत्र रद्द गरिएको जानकारी लोक सेवा आयोगलाई दिनुपर्नेछ।
- राजपत्र अनंकित तथा श्रेणीविहिन कर्मचारीलाई दिइने नियुक्तिपत्रमा राजपत्र अनंकित प्रथम श्रेणीको पदको हकमा लोकसेवा आयोगले सिफारिस गरेको विकास क्षेत्रमा र अन्य राजपत्र अनंकित तथा श्रेणीविहिन पदको हकमा लोकसेवा आयोगले सिफारिस गरेको अञ्चलमा ५ वर्ष अवधि पुरा हुने मिति समेत उल्लेख गर्नुपर्नेछ।
नियम १८ नियुक्ति पूर्व कबुलियत गराउन वा धन जमानी लिने
नियम १९ निरोगिताको प्रमाण पेश गर्नुपर्ने
नियम २० शपथ ग्रहण राजपत्रांकितको हकमा सम्बन्धित मन्त्रालयको सचिवले र अन्यको हकमा अख्तियारवालाले गराउने
यस्तो शपथ ग्रहणको एक प्रति निजामती किताबखानामा पठाउने र एकप्रति कर्मचारी कार्यरत रहेको कार्यालयमा राखिने
सरुवा
एउटा कार्यालय वा ठाँउमा पदाधिकार भएको कर्मचारीको पदाधिकार अर्को कार्यालय वा ठाँउमा सार्ने प्रक्रिया नै सरुवा हो। विभिन्न भौगोलिक क्षेत्रको अनुभव बटुल्न तथा नँया नँया संगठनको कार्य अनुभवको विकास गर्नका लागि कार्यस्थान र कार्यालय परिवर्तन वा स्थानान्तरण गर्ने कार्य नै सरुवा हो।सरुवा एकै मन्त्रालय, विभाग अन्तर्गत वा फरक मन्त्रालय, विभाग अन्तर्गत समेत हुने गर्दछ।
निजामती सेवामा सरुवाको आवश्यकता/महत्वः
- कर्मचारीलाई राष्ट्रको विभिन्न भौगोलिक क्षेत्र, त्यहाँको सामाजिक आर्थिक अवस्थाको बारेमा जानकारी दिनु
- कर्मचारीमा फरक संगठनको फरक कार्य अनुभव र दक्षता अभिवृद्धि गर्न
- कर्मचारीमा उत्प्रेरणा र मनोबल अभिवृद्धि गर्न
- संगठनको आवश्यकता अनुसारको कर्मचारी प्राप्ति गर्न
- संगठनमा उत्पन्न हुने द्वन्द्वको समाधान गर्न
- कर्मचारीको ईच्छा, रुचि र क्षमता बमोजिमको कार्यालयमा पदस्थापन गर्न
- गलत पदस्थापन सच्याउन
- व्यवस्थापकीय पदहरुमा बहुमुखी प्रतिभा र योग्यता बढाउन
- कर्मचारीलाई दण्ड र पुरुष्कार दिन
- कर्मचारीलाई सांस्कृतिक रुपमा सक्षम बनाउन
नेपालको निजामती सेवामा सरुवा सम्बन्धी समस्याहरुः
- सरुवा प्रणाली अनुमानयोग्य, स्वचालित, वैज्ञानिक र वस्तुनिष्ठ बनाउन नसकिएको
- निजामती सेवा ऐन र नियमावलीमा भएका सरुवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन नगरिएको/पालना नगरिएको। जस्तै सरुवाको समयाअवधि, भौगोलिक क्षेत्र
- सरुवा प्रणालीमा नातावाद, कृपावाद र अन्य चलखेल समेत हुने गरेको सुन्न थालिएको
- कसैलाई समय नपुग्दै सरुवा र कसैलाई समय पुगेको धेरै समय हुँदा समेत सरुवा नगरिनु
- दुर्गम क्षेत्रमा भौगोलिक अङ्कका लागि मात्र सरुवा हुने प्रवृत्तिः सेवाभाव हैन
- सरुवा सम्बद्ध निकायहरुबीच आपसी समन्वय, सहकार्यको अभाव
- सरुवाका मापदण्ड र आधारहरू छिटोछिटो परिवर्तन हुनु,
- सरुवा गर्दा आधार र कारण खुलाएर सरुवा नगर्नु,
- सरुवा प्रणाली स्वचालित हुनुपर्नेमा निर्णयकर्ताको स्वविवेकीय हुनु,
- दुर्गम स्थानको सरुवा व्यवस्थालाई बढुवामा अङ्क प्राप्तिमा मात्र सीमित गरिनु,
- कार्यालय प्रमुखको पदमा सरुवा गर्दा नेतृत्व क्षमता, निर्णय क्षमता, अनुशासन, आचरण एवं सदाचारमा ध्यान नदिनु,
- सरुवालाई वृत्ति विकाससँग जोड्नुपर्नेमा रिस उठेका एवं मन नपरेकालाई दण्ड सजाय दिने माध्यमका रूपमा प्रयोग गरिनु,
- सरुवामा आफ्नो र पराई भनेर कर्मचारीमा विभेद गर्नु,
- सरुवा प्रणाली सरल र पारदर्शी नहुनु, सरुवामा व्यापक भनसुन चल्नु, आर्थिक चलखेलका घटनासमेत बाहिर आउनु,
- सेवा समूह सञ्चालन गर्ने मन्त्रालय तथा विभागले गर्ने सरुवामा आपसी समन्वय हुन नसक्नु
- सचिव र सहसचिव पदको सरुवा अस्थिर र अव्यवस्थित हुनु, यी पदमा राजनीतिक प्रभाव उच्च हुनु,
- वृत्ति विकासका बहुआयामिक पक्षमा सरुवालाई प्रयोग नगरिनु,
- सरुवामा पूर्वसूचना पद्धति लागू नगर्नु,
ऐनमा सरुवा सम्बन्धि व्यवस्थाः
सरुवा गर्ने अधिकारः
- निजामती कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेतदिलाउनका लागि सरुवा गरिनेछ त्यस्तो सरुवा गर्ने अधिकार अख्तियारवालालाई हुनेछ ।
तर,
(क) एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयको निजामती कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्नेछ ।
(ख) प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूको सरुवा महालेखा नियन्त्रकको कार्यालयले गर्नेछ ।
(२) राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई सरुवा वा पदस्थापना गर्दा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा नेपाल सरकारको मुख्य सचिव र सामान्य प्रशासनमन्त्रालयका सचिव सदस्य रहेको समितिको सिफारिसमा नेपाल सरकारले गर्नेछ । सामान्य प्रशासन मन्त्रालयका सचिवको समेत सरुवा सिफारिस गर्नुपर्ने अवस्थामा सो समितिको बैठकमा सामान्य प्रशासन मन्त्रालयको सचिवको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवले समितिको सदस्यको रूपमा भाग लिनेछ ।( विशिष्ट श्रेणीका कर्मचारीलाई नेपाल सरकारले )
- कुनै सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र सरुवा हुन सक्नेछ ।
- विशिष्ट श्रेणी तथा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाहेक अन्य निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतया वर्षमा एकपटक तोकिएबमोजिमको समय तालिकाअनुसार भौगोलिक आधारमा सरुवा पत्रमा अवधि तोकी सरुवा गर्नुपर्नेछः–
(क) “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई“घ” वा “ग” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि ।
- “ग” वा “घ” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई “ख” वा “क” वर्गको भौगोलिक क्षेत्रको
कार्यालयमा कम्तीमा दुई वर्षको लागि ।
निजामती कर्मचारीलाई निजको सरुवा पत्रमा तोकिएको अवधि नपुग्दै सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सरुवा गर्न सकिने अवस्थाः –
(क) कुनै स्थानमा कार्यरत निजामती कर्मचारी अशक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने देखिएको कुरा नेपाल सरकारद्वारा तोकिएको मेडिकल बोर्डले सिफारिस गरेमा,
(ख) कुनै निजामती कर्मचारीलाई विशेष जिम्मेवारी दिनुपरेमा,
(ग) कुनै निजामती कर्मचारीलाई विभागीय कारबाही गर्नुपरेमा,
(घ) कुनै निजामती कर्मचारीलाई निज कार्यरत कार्यालयमा राखिराख्न उपयुक्त नभएमा,
(ङ) निजामती सेवाको कुनै दरबन्दी कटौती भई सो दरबन्दीमा कार्यरत कर्मचारी फाजिलमा परेको र निजलाई सोही जिल्लास्थित अन्य कार्यालयमा समेत समायोजन गर्न सक्ने अवस्था नरहेमा,
(च) राजपत्र अनंकित निजामती कर्मचारीहरूलाई घर पायक सरुवा गर्नुपरेमा ।
- अवधि नपुगी कुनै पनि कर्मचारीकोसरुवा हुने छैन
- रिक्त पद मिलेसम्म निजामती सेवाको राजपत्र अनंकित श्रेणीमा कार्यरत कर्मचारीको पति पत्नी दुवै सरकारी सेवामा भए एउटै जिल्लामा पठाइनेछ
- राजपत्र अनंकित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चलभित्रका कार्यालयहरूबाहेक पाँच वर्षसम्म अन्यत्र सरुवा गरिने छैन ।
- राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा सिफारिस भएको कर्मचारीले सिफारिस भएको कार्यालयमा १ वर्ष सेवा अवधि सेवा गरेपछि सो विकास क्षेत्रभित्र सरुवा हुन सक्नेछ ।
निजामती सेवा नियमावली,२०५० मा भएका सरुवा सम्बन्धि व्यवस्थाहरुः
नियम ३६.सरुवाको समय र सरुवाका आधारहरुः
- सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तभित्रमा
- मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रिय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्र
- क्षेत्रिय स्तरका निकायहरुले प्रत्येक वर्ष असोज १६ गते देखि असोज मसान्तभित्र
तर कुनै कार्यालयमा रिक्त हुन गएको पदमा तोकिएको समय तालिका बाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सरूवा गर्न सकिने छ ।
निजामती कर्मचारीहरुको सरुवा गर्ने अख्तियारवालाः
| निजामती कर्मचारी |
सरुवा गर्ने अख्तियारवाला |
| राजपत्रांकित विशिष्ट श्रेणी र राजपत्रांकित प्रथम श्रेणी |
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय
(प्रथम श्रेणीकालाई एउटै मन्त्रालय अन्तर्गतका निकायमा सम्बन्धित विभागीय मन्त्रिस्तरको निर्णयबाट सरुवा गर्न सकिने) |
| राजपत्रांकित द्वितिय र तृतिय श्रेणी |
सम्बन्धित केन्द्रिय निकायका विशिष्ट श्रेणीका सचिवस्तरको निर्णयबाट(तृतिय श्रेणी सम्मलाई सोही विभाग अन्तर्गत विभागीय प्रमुखले गर्न सक्ने)
|
| राजपत्र अनंकित र श्रेणीविहिन |
केन्द्रिय निकायको क.प्र. हेर्ने राजपत्रांकित प्रथम श्रेणी सहसचिव स्तरको निर्णय(सोही विभाग अन्तर्गत विभागीय प्रमुखले गर्न सक्ने)
|
- ५० वर्ष उमेर पुगेका कर्मचारीलाई निजले मागेको बाहेक क वर्गको क्षेत्रमा सरुवा नगरिने।
- राजपत्र अनंकित र श्रेणीविहिन निजामती कर्मचारीलाई घर पायकको जिल्लामा सरुवा हुन प्राथमिकता दिईने
- घर पायकको जिल्लास्थित कार्यालयमा कार्यरत राजपत्र अनंकित र श्रेणीविहिन निजामती कर्मचारीलाई निजले स्वेच्छाले निवेदन दिएको अवस्थामा वा निजको कार्यसम्पादनको प्रगति राम्रो नभएको ठोस प्रमाण देखिएको वा निजले अनुशासनहीन र अनियमित कार्य गरेको प्रमाणित भएको अवस्थामा बाहेक अर्को जिल्लामा सरुवा गरिने छैन ।
- रिक्त राजपत्र अनंकित र श्रेणीविहिन पद पूर्तिका लागि माग आकृति फाराम भरी पठाईसकेपछि त्यस्तो पदमा सरुवा गरी पदपूर्ति गरिने छैन ।
- उमेरका कारणबाट अनिवार्य अवकाश हुन १ वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेको निजामती कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक सरुवा गरिने छैन।
- कुनै निजामती कर्मचारीको सरुवा निजामती सेवा ऐन तथा नियमावली विपरित भएमा त्यस्तो कर्मचारीले सरुवा निर्णय भएको मितिले १५ दिनभित्र सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा भए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र अन्य निकायले गरेको भए सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिन सक्ने
- अवधि नपुग्दै सरुवा गरिएमा दिइने सुविधाः नँया ठाउँमा बन्दोबस्त गर्नका लागि निजले खाईपाई आएको १ महिनाको तलब साबिककै कार्यालयबाट
- सरुवा सम्बन्धी विवरणः सरुवा गर्ने अधिकारप्राप्त अधिकारीले सरुवाको विवरण तयार पारी सामान्य प्रशासन मन्त्रालय र निजामती किताबखानामा पठाउनुपर्ने
सरुवा गर्ने कार्यविधिः
- निजामती कर्मचारीको सरुवाका लागि अख्तियारवालाले सरुवाको विवरण अद्यावधिक गरी राख्नुपर्ने
- निजामती कर्मचारीको सरुवा गर्दा देहाय बमोजिमको कार्यविधि अपनाउनुपर्ने
- सरूवा गर्ने निर्णमा खुलाउनुपर्नेः कर्मचारी कार्यरत कार्यालय, भौगोलिक क्षेत्र, कार्यरत अवधि, सरुवा प्रस्ताव गरिएको कार्यालय र भौगोलिक क्षेत्र, सरुवा अवधि र सरुवा गर्नुपर्ने कारण
- सरुवा गर्ने निर्णय भएपछि सरुवा हुने कर्मचारीलाई निर्णय भएको ३ दिनभित्र सरुवा पत्र जारी गर्नुपर्ने र तोकिएको अवधिमा रमाना दिनुपर्ने
बढुवा
संगठनमा कार्यरत कर्मचारीलाई कार्यरत पद वा तह भन्दा माथिल्लो पद वा तहमा पदोन्नति वा स्तरवृद्धि गर्ने कार्य नै बढुवा हो। यो संगठनमा कर्मचारीको वृत्ति विकासको महत्वपूर्ण प्रक्रिया हो । बढुवाले पद र तहमा मात्र नभई कर्मचारीको सेवा सुविधा तथा काम कर्तव्य र अधिकारमा समेत बढोत्तरी गर्दछ।यसले कर्मचारीमा मनोबल र उत्प्रेरणाको अभिवृद्धि गरी संगठनको लक्ष्य प्राप्तिमा सहयोग गर्दछ ।
संगठनमा बढुवाको महत्व आवश्यकताः
- यसले संगठनमा कर्मचारीको मनोबल बढाउँछ, संगठनको उद्धेश्यप्रति उत्प्रेरित बनाउँछ।
- संगठनमा कर्मचारीको उच्च कार्यक्षमताको अभिवृद्धि गर्दै संगठनको समग्र उत्पादन र उत्पादकत्व बढाउँछ।
- कर्मचारीको सन्तुष्टी अभिवृद्धि गर्छ।
- संगठनका अन्य कर्मचारीलाई समेत उत्प्रेरित गर्छ।
- कर्मचारीको सामाजिक प्रतिष्ठामा अभिवृद्धि गर्छ।
- कर्मचारीको तलब भत्ता सुविधा सँगै जिम्मेवारी कर्तव्य र उत्तरदायित्व अभिवृद्धि गर्छ।
- संगठनको पदपूर्ति प्रक्रिया मितव्ययी हुन्छ।
- अनुभवी कर्मचारीलाई संगठनमा टिकाईराख्न सहयोगी हुन्छ।
बढुवाका प्रकारः
१ कार्यक्षमतामा आधारित बढुवाः बढि अंक ल्याउनेलाई बढुवा गरिन्छ।
कार्यक्षमताको आधारमा हुने बढुवाको आधारः
- बढुवा समितिले निजामती कर्मचारीलाई कार्यक्षमताबापत पाएको कुल अंकको आधारमा बढुवाको लागि सिफारिस गर्नेछ ।
निजामती कर्मचारीको कार्यक्षमताको मूल्यांकन गर्दा देहायबमोजिम बढीमा एक सय अंक दिइनेछः–
(क) कार्यसम्पादन मूल्यांकनबापत – चालीस अंक ४०
(ख) ज्येष्ठताबापत – तीस अंक ३०
(ग) शैक्षिक योग्यताबापत – बाह्र अंक १२
(घ) भौगोलिक क्षेत्रमा काम गरेबापत – सोह्र अंक १६
(ङ) तालिमबापत – दुई अंक २
२. ज्येष्ठता र कार्यसम्पादनमा आधारित बढुवा
- निजामती कर्मचारीको कार्यसम्पादनको मूल्यांकन गर्न तोकिएबमोजिमको कार्यसम्पादन मूल्यांकन फाराम प्रयोग गरिनेछ ।
- निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनको कुल अंकको विभाजन देहायबमोजिम हुनेछ ः–
(क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम पच्चीस अंक(25)
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम दश अंक(10)
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम पाँच अंक(5)
- राजपत्राङ्कित निजामती कर्मचारीको कार्यसम्पादन मूल्याड्ढन अर्धवार्षिक र वार्षिक रूपमा तथा राजपत्र अनंकित कर्मचारीको लागि वार्षिक रूपमा गरिनेछ
- वार्षिक रूपमा मूल्यांकन गर्नुपर्ने कार्यसम्पादन मूल्यांकन राजपत्र अनङ्कित कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुख तथा विभागीय प्रमुखले तोकिएको अवधिभित्र मूल्यांकन गरी, गराई त्यसको तीन प्रति तयार गरी एक प्रति लोकसेवा आयोग, एक प्रति बढुवा समितिको सचिवालयमा पठाई अर्को एक प्रति सम्बन्धित कार्यालयमा राख्नुपर्नेछ ।
- यसमा सबै भन्दा बढि सेवा अवधि भएका र कार्यसम्पादनमा बढि अंक ल्याएका कर्मचारीलाई बढुवा गरिन्छ।
३ आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाः
- तल्लो तहमा रहेको कर्मचारीबाट प्रतिस्पर्धा बनाई माथिल्लो पदमा बढुवा गरिन्छ।जस्तै निजामती सेवा ऐन, २०४९ मा राजपत्र अनंकित द्वितिय श्रेणीमा र राजपत्राकिंत द्धितिय र प्रथम श्रेणीमा २०%, आन्तरिक प्रतिस्पर्धा राखिएको छ।
निजामती सेवा ऐन,२०४९ को परिच्छेद ४ मा दफा १९ देखि २६ सम्म बढुवा सम्बन्धी व्यवस्था गरिएको छ।
- नेपाल न्याय सेवाको राजपत्रांकित पदमा बाहेक अन्य निजामती सेवाको राजपत्रांकित पदमा बढुवा गर्दा बढुवा समितिको सिफारिसमा गरिनेछ ।
- राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्नेछ ।
- राजपत्रांकित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदमा भएः रिक्त पदमध्ये बीस प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेका र सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्नेछ ।
- रिक्त पद मध्ये असी प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सम्बन्धित सेवाका सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर संख्यामा बढुवा समितिले सिफारिस गरेका उम्मेदवारहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहर्याएको उम्मेदवारलाई बढुवा गर्नेछ।
देहायका सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा देहाय बमोजिमका कर्मचारीहरुबाट बढुवा गरिनेछ :
- नेपाल कृषि तथा वन सेवाको पदमा नेपाल कृषि सेवा र नेपाल वन सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरु
- नेपाल प्रशासन सेवाको पदमा नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल प्रशासन सेवा, नेपाल विविध सेवा र नेपाल शिक्षा सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरु ।
- यसरी बढुवाको पदपूर्तिको लागि लोक सेवा आयोगले पदसंख्या निर्धारण गर्नेछ ।
- सचिव वा सो सरहको विशिष्ट श्रेणीको पदमा सम्भाव्य उम्मेदवार हुन राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीले नेपाल सरकारले तोकेको उच्चस्तरीय व्यवस्थापन तालिमसमेत उत्तीर्ण गरेको हुनुपर्नेछ
- निजामती सेवाको विशिष्ट श्रेणीको कुनै पनि पद रिक्त भएको मितिले पन्ध्र दिन भित्र सम्भाव्य उम्मेदवारको सिफारिस गर्नु पर्नेछ र सिफारिस भएको मितिले पन्ध्र दिनभित्र रिक्त पदमा पदपूर्ति गर्नु पर्नेछ ।
बढुवा समितिः
- नेपाल न्याय सेवाको राजपत्रांकित पदमा र राजपत्र अनंकित पदबाट राजपत्रांकित पदमा बढुवा हुने बाहेक निजामती सेवाको अन्य राजपत्रांकित पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछः–
(क) लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
(ख) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – सदस्य
(ग) मुख्य सचिव – सदस्य
(घ) लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयका विशेषज्ञ – सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव –सदस्य– सचिव
राजपत्र अनंकित प्रथम श्रेणीबाट राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछ :-
(क) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
(ख) लोकसेवा आयोगको सचिव – सदस्य
(ग) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य
(घ) लोकसेवा आयोगको अध्यक्षबाट मनोनीत सम्बन्धित
विषयको विशेषज्ञ – सदस्य
(ङ) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य–सचिव
बढुवासम्बन्धी विशेष व्यवस्थाः
- यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै श्रेणीमा कम्तीमा पन्ध्र वर्षसम्म बहाल रहिरहेका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा मुनिका निजामती कर्मचारीको अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।
- यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा कम्तीमा पन्ध्र वर्षसम्म बहाल रहिरहेका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा मुनिका कुनै निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाही निवेदन दिएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरी अवकाश दिइनेछ ।
- यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कम्तीमा पन्ध्र वर्षसम्मएउटै पदमा बहाल रहेका राजपत्रांकित प्रथम श्रेणी र राजपत्रांकित द्वितीय श्रेणीका निजामती कर्मचारीले बढुवा भई अवकाश लिन चाहेमा त्यस्तो कर्मचारीलाई एक श्रेणीमाथि बढुवा गरी अवकाश दिइनेछ ।
बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यताः
- बढुवाको निमित्त उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदको लागि तोकिएबमोजिमको शैक्षिक योग्यता र देहायबमोजिमको न्यूनतम सेवा अवधि पुगेको हुनुपर्नेछः–
- राजपत्र अनंकित पदको निमित्त तीन वर्ष,
(ख) राजपत्रांकित पदको निमित्त पाँच वर्ष ।
- माथि जुनसुकै कुरा लेखिएको भए तापनि महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रमा स्थायी बसोबास भएका निजामती कर्मचारीहरूको उल्लिखित सेवा अवधिमा एक वर्ष कम सेवा अवधि भए पनि बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः
देहायको अवस्थामा देहायको अवधिभर निजामती कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तलब वृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर ।
(घ) सेवा वा समूह परिवर्तन गरेको कर्मचारी भए त्यसरी सेवा वा समूह परिवर्तन भएको मितिले तीन वर्ष र आफैंले निवेदन दिई सेवा वा समूह परिवर्तन गरेको भए पाँच वर्षको अवधि
२४ ख. ज्येष्ठताको मूल्यांकनः निजामती कर्मचारीलाई ज्येष्ठताबापतको अंक प्रदान गर्दा हाल बहाल रहेको देहायबमोजिमको श्रेणीमा काम गरेबापत देहायको दरले बढीमा तीस अंक प्रदान गरिनेछ (30)
- राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीका पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३.७५ को दरले,
- राजपत्र अनंकित प्रथम श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३ को दरले,
- राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक २.५ को दरले ।
- ज्येष्ठताबापत अंक गणना गर्दा एक वर्षभन्दा बढी चानचुन महिना वा दिनको लागि दामासाहीको हिसाबले अंक दिइनेछ ।
- गयल भएको वा असाधारण बिदामाबसेको अवधिको अंक दिइने छैन ।
२४ ग. भौगोलिक क्षेत्रको विभाजनः
- निजामती कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको अंक प्रदान गर्दा देशको विभिन्न भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग” र “घ” चार वर्गमा विभाजन गरी देहायबमोजिमको पदमा तीमध्ये एक वा एकभन्दा बढी वर्गमा काम गरेको अनुभवबापत सोह्र अंकमा नबढ्ने गरी देहायबमोजिम अंक दिइनेछः– (16)
- राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.०० का दरले ।
(ख) राजपत्र अनंकित प्रथम श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक १.५० का दरले ।
(ग) राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक १.२५ का दरले
- कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा दुई सय तेत्तीस दिन रुजु हाजिर नभई सोभौगोलिक क्षेत्रको अंक पाइने छैन ।
- विदेशस्थित नेपाली कूटनैतिक नियोग वा अन्य कुनै कार्यालयमा काम गर्ने कर्मचारीलाई “घ” वर्गसरहको र अध्ययन बिदा तथा वैदेशिक तालिममा काजमा जाने निजामती कर्मचारीलाई “घ” वर्गको लागि तोकिएको अंकको आधा अंक दिइनेछ।
२४ घ. शैक्षिक योग्यता र तालिमको मूल्यांकनः
(१) निजामती कर्मचारीलाई शैक्षिक योग्यताको अंक दिँदा निजामती सेवाको कुनै पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता बापत एकमुष्ठ नौ अंक र सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधिबापत एकमुष्ट तीन अंक दिइनेछ ।
(५) सेवाकालीन तालिमबापत प्रथम श्रेणीको लागि २ अंक, द्वितीय श्रेणीको लागि
१.७५ अंक र तृतीय श्रेणीको लागि १.५ अंक प्रदान गरिनेछ ।
(६) निजामती कर्मचारीलाई तालिमको अंक दिंदा एक महिना वा सोभन्दा बढी अवधिको सेवासंग सम्बन्धित विषयको सेवाकालीन तालिमबापत अंक दिइनेछ ।
२४घ१क.जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा :- (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सबैभन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई देहाय बमोजिमको आधारमा बढुवा सिफारिस गर्नेछ ः–
(क) बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको,
- राजपत्र अनङ्किकत प्रथम श्रेणीको पदको लागि कम्तीमा एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको,
(१) राजपत्राङ्किक द्वितीय श्रेणी वा सो भन्दा माथिको पदको लागि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरहको तथा राजपत्राङ्किक तृतीय श्रेणीको पदको लागि सम्बन्धित सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता भएको,
(२) बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वाउपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढीको सेवाकालीन तालिम लिएको,
।
बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा देहायको आधारमा बढुवाको सिफारिस गर्नेछ –
(क) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनको औसतमा पन्चानब्बे प्रतिशत वा सो भन्दा बढी अंक प्राप्त गरेको,
(ख) सम्बन्धित सेवा, समूह वा उपसमूहको राजपत्र अनङ्कित द्वितीय श्रेणीको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको, र
(ग) श्रेणी विहिन पदमा वा राजपत्र अनङ्कित पाँचौं श्रेणीको पदमा आवद्ध भएका उम्मेदवारलाई श्रेणी विहिन पदमा गरेको सेवा अवधि समेत गणना गरी कम्तीमा कुल सेवा अवधि बीस वर्ष पूरा भएका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी सेवा अवधि भएको ।
श्रेणीविहीन कर्मचारीको स्तर वृद्धिसम्बन्धी व्यवस्था ः
श्रेणीविहीन कर्मचारीको अख्तियारवालाले देहायबमोजिम स्तर वृद्धि गर्नेछः–
(क) पाँच वर्ष वा सोभन्दा बढी तर दस वर्षभन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर,
(ख) दस वर्ष वा सोभन्दा बढी तर पन्ध्र वर्षभन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,
(ग) पन्ध्र वर्ष वा सोभन्दा बढी तर बीस वर्षभन्दा कम सेवा अवधि भएकोलाई चतुर्थस्तर ।
(घ) बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएकोलाई पाँचौंस्तर ।
२४च. बढुवाको उजुरीः (१) दफा २० बमोजिम बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने सम्बन्धित निजामती कर्मचारीले त्यस्तो सिफारिस गरेको मितिले पैंतीस दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले साठी दिनभित्र टुंगो लगाइनेछ ।
निजामती सेवामा बिदा
७१. निजामती कर्मचारीले पाउने बिदाः निजामती कर्मचारीहरूले देहायका बिदाहरू तोकिएबमोजिम
पाउने छन्ः–
(क) भैपरी आउने र पर्व बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा
(घ) प्रसूति बिदा,
(घ१) प्रसूति स्याहार बिदा
(ङ) किरिया बिदा,
(च) अध्ययन बिदा,
(छ) असाधारण बिदा
निजामती कर्मचारीले पाउने विदा
| भैपरी आउने र पर्व विदा |
६/६ गरेर १२ दिन |
| घर विदा |
वर्षमा ३० दिन (प्रति १२ कार्य दिनका लागि १ दिन) |
| बिरामी बिदा |
वर्षको १२ दिन( सञ्चित विरामी विदाले नपुगेमा थप १२ दिन पेश्की विदा लिन सकिने) |
| प्रसुति विदा |
९८ दिन थप ६ महिना बेतलबी विदा लिन सकिने |
| प्रसुती स्याहार विदा |
१५ दिन |
| किरिया विदा |
१५ दिन(श्रीमान किरिया बस्दा श्रीमतीलाई पनि) |
| अध्ययन विदा |
एकैपटक वा पटक पटक गरेर ३ वर्ष(सेवा जोडिने सरकारले उपयुक्त देखेमा २ वर्ष थप्न सक्ने) |
| असाधारण विदा |
३ वर्ष (१पटकमा १ वर्षका दरले सेवामा नजोडिने) |
१ भैपरी आउने र पर्व विदाः
क) निजामति कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने विदा ६ दिन र पर्व विदा ६ दिन गरी जम्मा १२ दिन विदा पाउने छ ।
ख) भैपरी आउने र पर्व विदामा वसेको कर्मचारीले पुरा तलव पाउने छ ।
ग) एक वर्षमा भैपरी आउने र पर्व विदा सञ्चित गरी अर्को वर्षमा लिन पाईने छैन ।
घ) भैपरी आउने र पर्व विदा आधा दिन पनि लिन सकिनेछ ।
ङ) मौखिक अनुरोधको आधारमा पनि विदा दिने अधिकारीले भैपरी आउने र पर्व विदाको स्वीकृत दिन सक्नेछ
२. घर विदाः
- निजामति कर्मचारीले काम गरेको अवधिको १२ दिनको एक दिनका दरले घर विदा पाउने व्यवस्था ,
- घर विदामा वस्ने कर्मचारीले पुरा तलव पाउने व्यवस्था,
- घर विदा एकसय असी दिनसम्म सञ्चित गरेर राख्न सकिने ।
- निजामति कर्मचारी सेवाबाट अवकास हुँदा सञ्चित विदा वापत पदाधिकार रहेको पदको खाईपाई आएको तलवको दरले हुने रकम एकमुष्ट लिन पाईने
- घर विदा, अध्यन विदा, असाधारण विदामा वसेको कर्मचारीले सो अवधिभर घर विदा नपाउने ।
- निजामति कर्मचारीले वर्षको एकपटक कम्तिमा ७ दिन घर विदा लिई घर जाँदा र घर विदा भुक्तान गरी कार्यालयमा आउदा बाटोको म्यादलाई ७ कोषको निमित्त १ दिनका दरले र मोटर , रेल, हवाईजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति नै दिनका दरले बाटोको म्याद पाउने छ ।
३.विरामी विदाः
क) निजामति कर्मचारीले प्रत्येक वर्ष १२ दिन विरामी विदा पाउने छ ।
ख) निजामति कर्मचारीले आफुले पकाएको विरामी विदा सञ्चित गरी राख्न पाउने ।
ग) कुनै कारणवश निजामति कर्मचारी सेवाबाट अवकास भएमा निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलवको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाईने छ ।
घ) निजामति कर्मचारी अशक्त भई सञ्चित विरामी विदाले नपुग्ने भएमा थप ७ दिनसम्म पेश्कि विदा लिन सकिने व्यवस्था ,
ङ) सात दिनभन्दा बढि अवधिको विरामी विदाको माग गर्ने निजामती कर्मचारीले स्विकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नुपर्ने।
च) निजामती कर्मचारीले आँफूले पकाएको विरामी विदा सञ्चित गरी राख्न पाउनेछ।यसरी सञ्चित गरेको विरामी विदा बराबरको रकम कर्मचारीले अवकाश पछि खाईपाई आएको तलब बराबरका दरले एकमुष्ट प्राप्त गर्नेछ।
४. प्रसुति विदा
- महिला निजामती कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसुती विदा लिन पाउनेछ।
- यसरी प्रसुती विदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि विदाबाट कट्टा नहुने गरी थप ६ महिनासम्म बेतलबी प्रसूती विदा लिन सक्नेछन्।
- यसरी बेतलबी प्रसूती विदा लिँदा ९८ दिनको विदासँग लगातार लिनुपर्छ।
- नोकरी अवधिमा जोडिने।
- महिला निजामती कर्मचारीले पूरा तलब पाउनेछन् ।
- प्रसती विदा र प्रसुती स्याहार विदा पाएका निजामती कर्मचारीलाई बच्चाको स्याहारका निमित्त बढिमा २ वटा बच्चाको निमित्त जनही एकमुष्ट ५ हजार रुपैँया शिशु स्याहार भत्ता दिईनेछ।
४.प्रसुति स्याहार विदा
१.कुनै पुरुष निजामति कर्मचारीको पत्नि सुत्केरी हुने भएमा निजले सुत्केरी अघि वा पछि गरी पन्ध्रदिनसम्म प्रसुति स्याहार विदा लिन पाउने ।
२.प्रसुति स्याहार विदामा वसेको कर्मचारीले पुरा तलव पाउने ,
३.प्रसुति स्याहार विदा सेवा अवधिभरमा २ पटक मात्र पाईने ।
४.प्रसुति स्याहार विदा लिएका कर्मचारीले विदा लिएको मितिले तिन महिना भित्रमा बच्चाको जन्मदर्ताको प्रमाणपत्र कार्यरत कार्यालयमा पेश गर्नुपर्ने र सो अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने कर्मचारीको त्यस्तो विदाको अवधि निजले पाउने अन्य विदावाट कट्टा गरीने ।
५. किरीया विदाः
१.कुनै निजामति कर्मचारीले कुल धर्म अनुसार आफै किरीया वस्नु परेमा वा त्यस्ता कर्मचारीको वावु आमा, वाजेवज्यै , छोराछोरी वा सासुससुराको मृत्यु भएमा वा पुरुष निजामति कर्मचारीको पत्नीको मृत्यु भएमा १५ दिन किरिया विदा पाउने छ । महिला निजामति कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यतिनै दिन किरीया विदा दिइने छ ।
२. किरीया बिदा बस्ने कर्मचारीले पुरा तलब पाउने छ ।
३ यसरी बिदा लिएको कर्मचारीले कार्यलयमा हाजिर भएको मितिले १५ दिन भित्र मृत ब्यक्तिको मृत्यु दर्ताको प्रमाण पत्र तथा मृत ब्यक्ति संग नाता खुलेको प्रमाण पत्र पेश गर्नु पर्ने छ । सो अवधी भित्र त्यस्तो प्रमाण पत्र पेश नगरेमा त्यस्तो विदाको अवधी निजले पाउने अन्य बिदा बाट कट्टा गरिने छ ।
अध्ययन बिदा
- निजामती सेवालाई उपयोगि र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तीमा सम्वन्धित मन्त्रालयको स्विकृति लिई खुल्ला प्रतियोगिता वा अन्तर विभागीय प्रतियोगितामा छानीई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने निजामति कर्मचारीले अध्ययन अबधिभर अध्ययन विदा पाउने ।
- सेवा, समूह, उपसमूहलाई उपयोगी र आवश्यक हुने कुनै विषयमा स्वदेश स्थित कुनै विश्वविद्यालय वा त्यस अन्तर्गतको कुनै अध्ययन संस्थान वा संकायबाट प्राप्त छात्रवृत्ति वा कोटामा नेपाल सरकारको खर्चमा अध्ययनको लागि मनोनयन गर्न सम्बन्धित निकायले सिफारिस गरी पठाएमा र समितिले स्विकृत भएमा सो अध्ययन अवधिभर अध्ययन विदा दिन सकिने
- आफू कार्यरत सेवा, समूह, उपसमूहलाई उपयोगी र आवश्यक हुने कुनै विषयमा विभिन्न मुलुक वा नेपाल सदस्य रहेका अन्तराष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी नेपाल सरकारको पूर्व स्विकृति लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई विदेशमा अध्ययन वा तालिममा सहभागी हुने अवसर पाएका निजामती कर्मचारीलाई मनोनयन गरी अध्ययनका लागि अध्ययन विदा र तालिमका लागि तालिम काज दिन सकिनेछ।
- सम्बन्धित सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारको पूर्व स्विकृति लिई निजी प्रयासमा स्वदेशमा तथा विदेशमा अध्ययन गर्न जाने निजामती कर्मचारीलाई अध्ययन विदा दिन सकिनेछ तर यस्तो विदामा बस्ने कर्मचारीले तलब पाउने छैन।
- निजामति कर्मचारीले सेवा अबधी भर एकै पटक वा पटक – पटक गरी ३ बर्ष सम्म अध्ययन विदा पाउने छ ।तर नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा अध्ययन अवधिमा २ वर्षसम्म थप गर्न सक्नेछ।अध्ययन विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।
- अध्ययन विदामा जान ३ वर्ष सेवा अवधि पुगेको हुनुपर्छ।
असाधारण विदा
निजामती कर्मचारीले असाधारण विदा लिनुपर्ने कारण सहित निवेदन दिनुपर्नेछ र कारण मनासिब देखिएमा नेपाल सरकारले एक पटकमा एक वर्ष नबढाई र सेवा अवधिभरमा ३ वर्षमा नबढाई सम्म असाधारण विदा दिन सकिने ।
- यस विदामा बसेको अवधिमा तलब नपाउने ।
- ५ वर्ष सेवा अवधि नपुगी असाधारण विदा नपाउने ।
- सो विदाको अवधी सेवा अबधीमा गणना नगरिने ।
- थप विरामी विदाको लागि र थप अध्ययन विदाका लागि यसप्रकारको विदा लिन सकिने।
बेतलबी विदा
- कुनै निजामती कर्मचारीको पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वाकुनै नियोगमा खटिई गएमा त्यस्तो निजामती कर्मचारीले तोकिएबमोजिम बेतलबी बिदापाउनेछ ।
- बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।
- यस प्रकारको विदा नेपाल सरकारबाट स्विकृत हुने ।
- कर्मचारीले एकै पटक वा पटक पटक गरी बढिमा ५ वर्षसम्म पाउने
कुन विदा कसले स्विकृत गर्ने
| भैपरी आउने र पर्व विदा |
सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख |
| घर विदा |
सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख |
| बिरामी बिदा |
सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख |
| प्रसुति विदा |
सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख |
| प्रसुती स्याहार विदा |
सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख |
| किरिया विदा |
सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुख |
| अध्ययन विदा |
नेपाल सरकार |
| असाधारण विदा |
नेपाल सरकार |
विभागीय सजायः
५९. सजायः उचित र पर्याप्त कारण भएमा निजामती कर्मचारीलाई देहायबमोजिमको विभागीय सजाय गर्न सकिनेछः–
(क) सामान्य सजायः
- नसिहत दिने,
- दुई वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा दुई तलब वृद्धि रोक्का गर्ने,
- दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलब वृद्धिसम्म रोक्का गर्ने ।
(ख) विशेष सजायः
- भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने
- भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बरखास्त गर्ने
नसिहत दिने वा बढीमा दुई तलब वृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्ने अवस्थाः (क)निजले सम्पादन गरेको काम सन्तोषजनक नभएमा,
(ख) प्रचलित कानुनबमोजिम बरबुझारथ नगरेमा,
(ग) कार्यसम्पादन, आज्ञाकारिता र समयपालना आदिका सन्दर्भमा एक वर्षमा दुई पटकसम्म लिखित चेतावनी पाएमा,
(घ) यो ऐन वा प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
ङ) सेवाग्राहीको पीरमर्का र उजुरी पटक–पटक बेवास्ता गरेको सम्बन्धमा आफूभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालना नगरेमा,
(च) कार्य विवरण लागू गर्ने गराउने दायित्व भएको पदाधिकारीले सो कार्य नगरेमा ।
दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलब वृद्धिसम्म रोक्का गर्ने अवस्थाः
(क) अनुशासनहीन काम गरेमा,
(ख) यो ऐन र यस ऐनअन्तर्गत बनेका नियमहरूमा उल्लिखित आचरणसम्बन्धी कुराहरू उल्लंघन गरेमा,
(ग) प्रचलित कानुनबमोजिम पेस्की फछ्र्यौट नगरेमा,
(घ) व्यवस्थापन परीक्षणबाट देखिएका अनियमितता सम्बन्धमा दिएको निर्देशन पालना नगरेमा,
(ङ) पूर्वस्वीकृति नलिई बराबर कार्यालयमा अनुपस्थित रहेमा,
(च) अन्यत्र कुनै प्रकारको नोकरी गर्ने वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गरेमा ।
सेवाबाट हटाउने वा बरखास्त गर्ने अवस्थाः
- निजामती कर्मचारीले अयोग्यताको कारणले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा ।
(ख) आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेमा ।
(ग) कार्यालयको समयमा बराबर मादक पदार्थको सेवन गरेमा ।
(घ) बराबर अनुशासनहीन काम गरेमा ।
(ङ) राजनीतिमा भाग लिएमा ।
(च) आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा ।
(छ) बिदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ।
(ज) मनासिव कारण भई बिदा स्वीकृत गराएकोमा वाहेक वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले तीस दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर नभएमा ।
माथि उल्लेखित अवस्थाको अलावा देहायको कुनै अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ :-
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा ।
(ख) भ्रष्टाचार गरेमा ।
(ग) स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि आवेदन दिएमा ।
(घ) निजामती सेवामा नियुक्त हुने वा बहाल रहने उद्देश्यले नागरिकता, उमेर वा योग्यता ढाँटेको प्रमाणित भएमा ।
- बिदा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने निजामती कर्मचारीलाई गयल र तलब कट्टी गर्न सकिनेछ । यसरी गयल भएको अवधि सेवा अवधिमा गणना गरिने छैन ।
- बिदा स्वीकृत नगराई लगातार नब्बे दिनभन्दा बढी अवधि अनुपस्थित हुने कर्मचारीलाई गयल कट्टी गरी हाजिर गराउन सकिने छैन ।
विभागीय सजाय दिने अधिकारी :-
निजामती कर्मचारीलाई सजायको आदेश दिने अधिकार देहायबमोजिमका अधिकारीलाई हुनेछ :-
(क) राजपत्रांकित प्रथम श्रेणी र सोभन्दा माथिको पदमा कार्यरत निजामती कर्मचारीलाई नेपाल सरकार,
(ख) राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका निजामती कर्मचारीलाई निज कार्यरत निकायको विशिष्ट श्रेणीको अधिकारी,
(ग) राजपत्र अनंकित निजामती कर्मचारीहरूलाई निज कार्यरत कार्यालयको विभागीय प्रमुख वा राजपत्रांकित कार्यालय प्रमुख ।
लोकसेवा आयोगको परामर्श लिनुपर्नेः विभागीय सजायको कारबाहीको सिलसिलामा सम्बन्धित निजामती कर्मचारीले दिएको सफाइ वा स्पष्टीकरण सन्तोषजनक नभई त्यस्तो कर्मचारीलाई सजाय गर्नुपर्ने देखिएमा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सो कर्मचारीलाई दिन लागिएको सजाय प्रस्ताव गरी लोकसेवा आयोगको परामर्श लिनुपर्ने छ ।
अवकाशः
संगठनमा कार्यरत कर्मचारीहरु आँफू कार्यरत पदबाट स्थायी रुपमा अलग हुने कार्य नै अवकाश हो।अवकाशका प्रकारहरु
२ प्रकारका
- उमेर हदका कारणः निजामती सेवामा हाल ५८ वर्ष, स्वास्थ्य सेवाका कर्मचारी र शिक्षकको ६० उच्च अदालत र जिल्ला अदालतका न्यायधिश ६३ र सर्वोच्चका प्रधानन्यायधिश र न्यायधिशको ६५
- पदावधिका कारणः सचिवमा ५ वर्ष मुख्य सचिवमा ३ वर्ष
- स्वेच्छिक अवकाशः
- कारबाही स्वरुप अवकाश
- शारीरिक असमर्थताको कारण अवकाश
निजामती सेवा ऐनमा अवकाश सम्बन्धि भएका व्यवस्थाहरु
१ ) अनिवार्य अवकाशः
- अन्ठाउन्न वर्ष उमेर पूरा भएको वा पदावधि पूराभएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउनेछ ।
- निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा निजलेभरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएकोउमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ ।
२) नेपाल सरकारले दिन सक्ने अवकाशः
नेपाल सरकारले देहायका अवस्थामा कुनै पनि निजामती कर्मचारीलाई सेवाबाट अवकाश दिन सक्नेछः–
- कुनै निजामती कर्मचारीले आफ्नो जिम्मामा रहेको वा आफूले कुनै तरिकाबाट प्राप्त गरेको सरकारी गोप्य कागजात, लिखत वा जानकारी कुनै अनधिकृत व्यक्ति वा निकायलाई दिएमा वा दिने प्रयास गरेको कुरा प्रमाणित भएमा,
- कुनै निजामती कर्मचारीले राष्ट्रिय हित विपरीत कुनै विदेशी राष्ट्र, संस्था वा नागरिकसंग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादा विपरीत गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको कुरा प्रमाणित भएमा ।
३) असमर्थ कर्मचारीको सम्बन्धमा विशेष व्यवस्थाः कुनै निजामती कर्मचारी शारीरिक वा मानसिक रोगको कारणबाट नियमित रूपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भई आएमा नेपाल सरकारले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ ।
४. स्वेच्छिक अवकाशः
- निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पूरा भएका निजामती कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्तमा स्वेच्छिक अवकाश लिन सक्नेछ । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये सम्वत् २०४९ साल कार्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्नेको हकमा साठी वर्ष उमेर ननाघ्ने गरी र सो मिति र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्नेको हकमा अन्ठाउन्न वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।
- तर दरबन्दी मिलान हुन नसकी फाजिलमा परेको वा नेपाल सरकारलाई आवश्यक नभएका पदमा कार्यरत कर्मचारीको हकमा छुट्टै सुविधा र सर्त तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्वेच्छिक अवकाशको लागि निवेदन माग गर्न सकिनेछ ।
- माथी जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पुगेको कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा एक श्रेणी माथिको पदमा बढुवा पाउने भएमा एक श्रेणी माथिको पदमा बढुवा गरी स्वेच्छिक अवकाश लिन सक्नेछ ।
निजामती सेवामा अवकाशको महत्वः
- बढ्दो उमेरसँगै शारीरिक मानसिक असमर्थताबाट कर्मचारीलाई आराम दिन
- संगठनमा नवरक्तसञ्चार र नवपर्वर्तन भित्र्याउन
- अनुशासनहिन कर्मचारीलाई कारबाही गर्न
- कर्मचारीको अवकाशपछिको जिवनलाई मर्यादित बनाउन
- संगठनमा पुराना कर्मचारीको बहिर्गमन र नँया कर्मचारीको आगमन मार्फत संगठनको उत्पादन र उत्पादकत्व बढाउन।
- स्वेच्छिक अवकाश मार्फत कर्मचारीको ईच्छा चाहाना पूरा गर्न
- मातहतका कर्मचारीलाई बढुवाको अवसर दिन
नेपालमा अवकाश सम्बन्धी समस्याहरुः
- अवकाश सम्बन्धी वस्तुनिष्ठ योजना नहुनु
- अवकाशलाई सजायको रुपमा बुझ्ने मानसिकता हुनु
- सरकार र कर्मचारीले अवकाशपछिको फलदायी योजना बनाउन नसक्नु
- सेवा समूहपिच्छे अवकाशको उमेर फरक हुनु
- स्वेच्छिक अवकाशले अनुभवी कर्मचारी बाहिरिने खतरा रहनु
अभ्यासका लागि प्रश्न
- निजामती कर्मचारीलाई हुने विभागीय सजाय उल्लेख गर्दै विद्यमान निजामती सेवा ऐन बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने अवस्थाहरु लेख्नुहोस्।5+5=10
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 1,065