एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने - Chaitanya News
  • 2026-06-24
  • 17:03:14
  • बुधबार,आषाढ १०, २०८३
  • एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

    एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

    ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो।

    नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो। तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो। खेल आठ ओभरमा झारिएको छ।

    एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा बुधबार समूहगत चरणको अन्तिम खेलहरु हुँदैछन्। समूह ‘ए’ अन्तर्गत नै बुधबार मलेसिया र हङ्कङबिच पनि खेल भइरहेको छ। मलेसियाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो। जवाफमा नौ ओभरको खेल सकिँदासम्म हङ्कङले दुई विकेट गुमाएर ९९ रन बनाएको छ।

    नेपाली टोली यसअघि नै समूह विजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ। नेपाल यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो।

    नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ। चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसिन छ। तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन्।

    प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ। समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्बोडियाको र ओमानले कुवेताको सामना गर्नेछन्। समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ।

    सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ। फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ। नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो। सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो।

    एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्वपूणर् प्रतियोगिता हो। यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ। एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ।