बेइजिङ– यो वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले बढेको छ। घरजग्गा बजारमा सङ्कट गहिरिँदै गइरहेको भएपनि आर्थिक वृद्धिदर अनुमान गरिएको स्तरभन्दा माथि उक्लिएको हो। सरकारी तथ्यांकअनुसार गएको वर्षको सोही अवधिको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतले बढेको छ।
मार्च त्रैमासमा अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणले देखाएको थियो। गएको वर्षको पहिलो त्रैमासमा भने चिनियाँ अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको थियो। चीन सरकारले गएको महिना यस वर्षको लागि करिब ५ प्रतिशतको महत्त्वाकाङ्क्षी आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो। पछिल्लो तथ्याङ्कले सरकारको प्रक्षेपण पूरा हुने आशा जगाएको छ।
पहिलो त्रैमासमा खुद्रा विक्री ३ दशमलव १ प्रतिशतमा घटेको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स ९एनबीएस०को तथ्याङ्कले देखाएको छ। समीक्षा अवधिमा घरजग्गा बजारमा लगानी भने साढे ९ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ। चीनको अर्थतन्त्रमा घरजग्गा बजारको अनुपात करिब २० प्रतिशत छ। तर लामो समयदेखि यो क्षेत्र सङ्कटमा फसेको छ। एजेन्सी