सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्‍यो - Chaitanya News
  • 2026-06-24
  • 14:21:33
  • बुधबार,आषाढ १०, २०८३
  • सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्‍यो

    सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्‍यो

    काठमाडौँ– सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सो घोषणा गरेको हो।

    राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरिएको थियो। सो प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको थियो।

    कुनलाई राष्ट्रिय फल घोषणा गर्न सकिन्छ, कुन फलको अवस्था के छ, त्यसको तथ्याङ्क, विवरण र विश्लेषण गरी फलफूल विकास केन्द्र कीर्तिपुरले कृषि मन्त्रालयलाई पठाएको थियो। त्यसकै आधारमा विश्लेषण गरेर मन्त्रालयले मन्त्रीपरिषद्मा लगेको हो।

    फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाका अनुसार, सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५–७६ तिर अध्ययन सुरु भएको थियो। पछिल्लो समयमा नयाँ शिराबाट अध्ययन भएको थियो। सुन्तला जातअन्तर्गत सुन्तला, जुनार, कागती, बिमिरो, भोगटे, निबुवा, मुन्तला, चाक्सी, संखत्र आदि फल पर्छन्।

    नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन्। नेपालमा आँप, सुन्तला, केरा, काफल आदिका विभिन्न जात पाइने गरेका छन्। यसमध्ये व्यावसायिक रूपमा ६० वटा जति फलको खेती गरिन्छ। तराईमा आँप, केरा, लिची आदि, मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मोसम, भोगटे आदि र उच्च पहाडमा ओखर, स्याउ प्रमुख फल छन्।