संसद् अन्त्य गरी अध्यादेश ल्याउने सरकारको तयारी - Chaitanya News
  • 2026-07-08
  • 00:39:23
  • मंगलबार,आषाढ २३, २०८३
  • संसद् अन्त्य गरी अध्यादेश ल्याउने सरकारको तयारी

    संसद् अन्त्य गरी अध्यादेश ल्याउने सरकारको तयारी

    काठमाडौँ– सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरि अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि आन्तरिक तयारी भई रहेको संसद् सचिवालय स्रोतले जनायो।

    एक महिनादेखि जारी संसद्को गतिरोध फुकाउन नसक्दा अधिवेशन अन्त्यको तयारी भएको हो। वैशाखको पहिलो सातासम्ममा हिउँदे अधिवेशन अन्त्य हुने सम्भावना छ। सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरूभित्रबाट दबाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो।

    प्रतिनिधि सभाको बैठक वैशाख २ गतेका लागि डाकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसकै वरिपरि अधिवेशन अन्त्य गर्ने मनस्थितिमा छन्। सहकारीको विषयलाई लिएर संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने काँग्रेसको अडानका कारण प्रधानमन्त्री अधिवेशन अन्त्य गर्ने मनस्थितिमा पुगेका हुन्।

    सरकार संसद्को गतिरोध फुकाउनेतिर भन्दा पनि अध्यादेशबाट कानून ल्याउने दिशामा केन्द्रित हुन थालेको छ।

    त्यसो त प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनका लागि संसद्बाट नसकिए अध्यादेशबाट भए पनि लगानीको वातावरण निर्माण गर्न कानून संशोधन गरिने प्रतिबद्धता जनाएका थिए। बुधवार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

    ‘देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, कानून, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन्। त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन सरलीकृत नीति निर्माण गर्छ,’ उनले भने। लगानीसँग सम्बन्धित कानून संशोधनका लागि चालु अधिवेशनबाटै संशोधन हुने सम्भावना देखिँदैन। यसबाट पनि यो अधिवेशनलाई धेरै लम्बाउने पक्षमा उनी नरहेको स्पष्ट हुन्छ ।

    लगानी भित्र्याउनका लागि निजी क्षेत्रले कानूनी जटिलता फुकाउनुपर्ने माग गरिरहेको छ। सरकार पनि करिब एक दर्जन कानून संशोधनको तयारीमा जुटेको छ।

    लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना गरिँदै छ।