प्रकाशमान सिंहले भने: गृहमन्त्रीउपर संसदीय समिति नबनाए सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍यो - Chaitanya News
  • 2026-07-08
  • 00:38:34
  • मंगलबार,आषाढ २३, २०८३
  • प्रकाशमान सिंहले भने: गृहमन्त्रीउपर संसदीय समिति नबनाए सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍यो

    प्रकाशमान सिंहले भने: गृहमन्त्रीउपर संसदीय समिति नबनाए सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍यो

    काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन्।

    नयाँ वर्षको अवसरमा आज काठमाडौँको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सो धारणा राखेका हुन्।

    सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने उनले बताए। तर सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो।

    अहिले काँग्रेसको कारण नभै सरकारकै गैर जिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म काँग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन।’

    जनताको आशा भरोसा काँग्रेसप्रति भएकाले गुनासो पनि काँग्रेससँगै भएको भन्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। राष्ट्रिय राजनीतिमा आउने गतिरोध अन्त्य र जनताका गुनासा सम्बोधनका लागि काँग्रेसले सधैँ अभिभावकीय भूमिका निर्वाह गर्दै आएको भन्दै सहकारी पीडितलाई न्याय दिन पनि काँग्रेसले पहल लिने बताए।

    उनले देशमा राजनीतिक स्थायित्वको वातावरण बनाएर मात्र लगानी सम्मेलन गर्दा उचित हुने धारणा पनि राखे।