काठमाडौँ– वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आउँदो महिनाका लागि महिनाको अन्तिम दिन (मसान्त) मा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३० गते नै निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका हुन्।
सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकहरुले चैतको तुलनामा वैशाखका लागि ब्याजदर घटाएका छन्। २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका छन्।
नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन्।
यस्तैगरी, सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन्। तर, एभरेस्ट बैंक र एनएमबी बैंकले भने चैतको तुलनामा वैशाखका लागि केही ब्याजदर बढाएका छन्।
चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन्।
![]()