काठमाडौँ– राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। आज (बुधवार) भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन्।
५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन्। उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन्।
२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन्। तत्कालीन नेकपाबाट निर्वाचित उनी नेकपा विभाजन भएर माओवादी केन्द्र र एमाले बन्दा एमालेमै रहेकी थिइन्। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन्। कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची जिल्ला हो।
२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा ९एमाले० केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। त्यस्तै उनी तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन्।
अनेमसंघमा रहँदा उनी जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेम संघ जिल्ला सचिव भएर समेत काम गरेकी थिइन्।