ज्ञानेन्द्र शाहीले भने: मलाई गृहमन्त्रीको आदेशमा डिएसपीले कुटे, लुगा च्याते - Chaitanya News
  • 2026-07-08
  • 00:38:17
  • मंगलबार,आषाढ २३, २०८३
  • ज्ञानेन्द्र शाहीले भने: मलाई गृहमन्त्रीको आदेशमा डिएसपीले कुटे, लुगा च्याते

    ज्ञानेन्द्र शाहीले भने: मलाई गृहमन्त्रीको आदेशमा डिएसपीले कुटे, लुगा च्याते

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताएका छन्।

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सहकारीमा लाखौँ मानिस पीडित भएको बताए। मंगलबार राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीको निर्देशनमा आफूमाथि कुटपिट भएको उनको आरोप थियो। गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले अहिले उनै गृहमन्त्रीले कुटपिट गराएको जिकिर गरेका हुन्।

    उनले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ। यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रूपमा कुनै पनि मान्छेले, कुनै पनि समूहले, कुनै पनि दलले आफ्नो मत राख्न पाउँछन्। निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन? भोलि सभामुख र हामी सांसदहरूको घर पनि निषेधाज्ञा बन्देला। बाथरुम पनि निषेधाज्ञा बन्देला। सिंहदरबार निषेधाज्ञा हो, संसद् भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो? पूर्वगृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ। हिजो मलाई गृह मन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो। यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ। सुशासन मुखमा होइन व्यवहारमा गर्नुस्।’