काठमाडौँ– मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल (जसपा) राष्ट्रियसभा उपाध्यक्ष पदमा हुने चुनावमा साझा उम्मेदवारको पक्षमा रहेको छ।
पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले भने आफूहरू सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय होस् भने पक्षमा रहेको बताए। राष्ट्रियसभा अध्यक्षका लागि भएको चुनावमा सत्ता गठबन्धनबाट जसरी साझा उम्मेदवार बनेको थियो त्यसरी नै उपाध्यक्षका लागि साझा उम्मेदवार हुनुपर्ने पक्षमा पार्टी रहेको उनले बताए।
उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै छ, तर सत्ता गठबन्धनमा हालसम्म सहमति जुटेको छैन। साझा उम्मेदवार नबनेमा कसलाई मतदान गर्ने भन्नेबारेमा त्यतिबेला नै निर्णय गर्ने उनको भनाइ छ। यद्यपि जसपाले भने उपाध्यक्ष पदमा उम्मेदवारी नदिने उनको भनाइ छ।
जसपा राष्ट्रिय सभाका संसदीय दलका नेता मृगेन्द्रकुमार सिंहले गठबन्धनभित्र भएको पद बाँडफाँटमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुने आफूले बुझेको बताए। तर, यस विषयमा गठबन्धनमा निर्णय हुन बाँकी रहेको बताए।
राष्ट्रिय सभामा लोसपाबाट एक जना सदस्य छन्। लोसपाले पनि कसलाई मतदान गर्ने भनी अहिलेसम्म टुङ्गो लगाएको छैन। लोसपा राष्ट्रिय सभाका संसदीय दलका नेता शेखर सिंहले कहाँ मतदान गर्ने भन्ने विषयमा हालसम्म पार्टीमा कुनै छलफल नभएको बताए। मतदान हुनुभन्दा पहिला पार्टीले निर्णय गर्ने उनको भनाइ छ।
उनले भने, ‘हाम्रो पार्टी सत्ता गठबन्धनमा नरहेको कारण त्यहाँ मतदान गर्ने कुरा हुँदैन। बाँकी अर्को कसले उम्मेदवार उठाउँछ त्यसको बारेमा त्यतिबेला नै सल्लाह हुन्छ।