विराटनगर– कोशी सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।
एमाले र माओवादीले संसद्को विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष माग गरेपछि प्रदेश सरकारले हतार–हतार डेढ महिनापछिका लागि प्रदेश सभा बैठक बोलाउन सिफारिस गरेको हो। मुख्यमन्त्री कार्यालयबाट सिफारिस पत्रमा चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको उल्लेख छ।
यसअघि एमाले माओवादीका ५३ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गर्दै आजै प्रदेश प्रमुख खापुङसमक्ष विशेष अधिवेशनको माग गरेका हुन्। एमाले माओवादी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन्।
विशेष अधिवेशनको माग छल्न हतार हतार मुख्यमन्त्री कार्कीले जेठ ११ गतेका लागि संसद् बोलाएका हुन्।
![]()