वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पुन - Chaitanya News
  • 2026-06-24
  • 11:50:26
  • बुधबार,आषाढ १०, २०८३
  • वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पुन

    वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पुन

    काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन्।

    वीरगञ्ज उद्योग वाणिज्य संघको विर्तास्थित कार्यालयमा आइतबार राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले मधेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको बताएका हुन्।

    ‘लोकतन्त्रमा सरकारले नागरिकका आवाज सुन्नैपर्छ। वीरगञ्ज आर्थिक केन्द्र नै हो। औद्योगिक नगरी नै हो’, मन्त्री पुनले भने।

    देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै उनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए। निजी क्षेत्रका गुनासोलाई बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्री पुनले आश्वस्त पारे। सरकारले व्यवसायीलाई काखापाखा नगर्ने र नतर्साउने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनको छ।

    मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहे पनि युद्ध र महामारीजस्ता कारणले विश्वव्यापी सप्लाई चेन्ज प्रभावित हुँदा त्यसको असर नेपाली बजारमा परेको उनले जानकारी गराए। यद्यपि उदयीमान अर्थतन्त्र भएका भारत र चीनको आर्थिक वृद्धिदर राम्रो हुँदा त्यसबाट नेपाली अर्थतन्त्रले फाइदा लिन सक्नुपर्नेमा उनले जोड दिए।