काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले आवश्यकताभन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताएका छन्।
आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने प्रस्ताव दोहोर्याएका छन्। भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे।
‘स्थानीय तहलाई नचलाऔँ तर प्रदेश र केन्द्रको पुनःसंरचना जरुरी छ, केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन, तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ?’ उनको प्रश्न थियो।
संविधानले सिंहदरवारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुँदा र रोजगारीका लागि विदेश पलायनले आम जनतामा निराशा छाएको सांसद भण्डारीले बताए।