नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको छ :  पूर्वराजा शाह - Chaitanya News
  • 2026-07-10
  • 11:48:10
  • शुक्रबार,आषाढ २६, २०८३
  • नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको छ :  पूर्वराजा शाह

    नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको छ :  पूर्वराजा शाह

    काठमाडौँ– पूर्वराजा ज्ञानेन्द शाहले नयाँ समझदारी, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको बताएका छन्। आज (शनिबार) जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन्।

    शाहले भने, ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’

    उनले अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेकोमा चिन्ता व्यक्त गरे। उनले आफ्नै भूगर्भ भित्र अथाह धन भए पनि हामीहरु खानका लागि काम खोज्न भौतारी राखेको जिकिर गरे।

    ‘कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन रु तर खै रु त्यसैले म भन्छु ( अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ’ उनले भने, ‘यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ। आफू जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ।

    यस्तो छ ज्ञानेन्द्र शाहको सम्बोधन:

    उपस्थित महिला तथा सज्जनवृन्द,

    प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलङ्गामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा ( म गौरव अनुभव गर्दछु। यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ। साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर हो।

    नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिञ्जा सभ्यताको केन्द्र स्थलको रूपमा रहेको इतिहास छ। चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलङ्गामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ। अनेकौँ अग्ला चुचुरा, भीर, पाखा, खोँच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला ( कर्णाली, तिला र सिँजा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ। नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र ( खेतीपाती, भेडा, चौँरी र घोडा पालनका हिसाबले महत्त्वपूर्ण रह्यो। कालो मार्सी धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पति जन्य जडीबुटी ( जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन्।

    कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ठ र परस्परमा अत्यन्त आत्मीय छौँ। आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठुलो बल हो। अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरवप्रति आस्था नै हाम्रो ठुलो पुँजी हो। कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ।

    आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ ( आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ ( तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै? त्यसैले म भन्छु ( अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।

    यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ। आफू जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ।

    आज, हिजो होइन हामी आफै बदलिरहेका छौँ । परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन।

    अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।

    अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यस क्षेत्रका उत्साहपूर्ण उपस्थितिका लागि सबैमा धन्यवाद

    जय नेपाल।