उपनिर्वाचन: बझाङमा पाँच जना उम्मेदवार मैदानमा - Chaitanya News
  • 2026-07-10
  • 12:05:34
  • शुक्रबार,आषाढ २६, २०८३
  • उपनिर्वाचन: बझाङमा पाँच जना उम्मेदवार मैदानमा

    उपनिर्वाचन: बझाङमा पाँच जना उम्मेदवार मैदानमा

    काठमाडौँ– बझाङ प्रदेशसभा–१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याएका छन्। बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी असार ५ मा निधन भएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ।

    कांग्रेस बझाङ कार्य समिति सदस्य रहेका सिंहले २०५५ सालदेखि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को राजनीति थालेका थिए । नेविसंघपछि उनले तरुण दलमा राजनीति थाले। २०७२ मा नेपाल तरूणदल बझाङ— १ को क्षेत्रीय सभापति भएका सिंह कांग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा निर्वाचित भएका थिए।

    २०७९ को स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका— ५ को वडाध्यक्षमा अभिषेक पराजित भएका थिए।

    वडाध्यक्षमा तेस्रो मत ल्याएका अभिषेकलाई कांग्रेसले स्वर्गीय पृथ्वीबहादुरको विरासत कायम राख्न चुनावी मैदानमा पठाएको छ। यता सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि बझाङ १ मा बेग्ला बेग्लै उम्मेदवार खडा गरेका छन्।

    एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ। भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए। भण्डारी अघिल्लो कार्यकालमा समेत एमाले बझाङको अध्यक्ष थिए। भण्डारी कानून व्यवसायी समेत हुन्।

    माओवादी केन्द्रबाट जनक बुढाले टिकट प्राप्त गरेका छन्। बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन्। उनी दोस्रो संविधान सभाका सदस्य थिए। यस्तै एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन्। उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए।

    यस्तै जनता समाजवादी पार्टीले बझाङ प्रदेशसभा १ मा पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ।

    २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए। उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन्।