धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालाले नयाँ वर्षका दिन धनगढीमा आयोजना हुने धनगढी हाफ म्याराथन प्रतियोगिताको प्रायोजकमा साथ दिएको छ। धनगढी जेसिजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ हुने धनगढी हाफ म्याराथन प्रतियोगिताको प्रायोजकको रुपमा पाठशाला बनेको हो।
चैतन्य पाठशालाका तर्फबाट अध्यक्ष गणेश जोशी र धनगढी जेसिजका तर्फबाट म्याराथन संयोजक आशिष शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे। विभिन्न सामाजिक क्षेत्रहरुमा उत्तरदायित्व वहन गर्दै आएको चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्व अनुसार धनगढी हाफ म्याराथनलाई साथ दिएको पाठशालाका अध्यक्ष गणेश जोशीले बताए।
चैतन्य पाठशाला समय र शिक्षामा देखिएका अभावहरूको प्रत्याभूत परिपूर्तिका लागि स्थापित एक आधुनिक र पूर्ण स्कुल हो। एउटा आधुनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधारहरु पाठशालामा रहेका छन्। धनगढीमा आधुनिक र समय अनुसारको शिक्षा पठनपाठन पाठशालाले दिईरहेको छ।
धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ। म्याराथन चार वटा विधामा हुनेछ। २१ दशमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिता संयोजक आशिष शाहले जानकारी दिए। २०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको जनाएको छ। जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ।