आयरल्यान्डसँग २१ रनले हार्‍यो नेपाल - Chaitanya News
  • 2026-06-07
  • 10:40:57
  • आइतबार,जेठ २४, २०८३
  • आयरल्यान्डसँग २१ रनले हार्‍यो नेपाल

    आयरल्यान्डसँग २१ रनले हार्‍यो नेपाल

    काठमाडौँ– आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा बुधबार नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ। सामान्य विजलक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले टोलीलाई लक्ष्यसम्म पुरयाउन सकेनन्।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एकसय ५७ रनमात्र बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २५.३ ओभरमै अलआउट हुनुअघि एक सय ३६ रनमात्र बनाउन सक्यो।

    नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि साहब आलमले सर्वाधिक ३७ रनको योगदान गरे। नवौँ नम्बरमा क्रिज समाल्न आएका साहब आलमले ३४ बलको सामना गरी एक छक्का चार चौका हिर्काए।

    साहब आलम क्रिजमा रहेसम्म नेपालले खेल जित्ने सम्भावना देखिएको थियो। तर, टोली जिततर्फ अगाडि बढिरहँदा बाउन्ड्री प्रहार गर्ने धुनमा साहब आलम क्याच आउट भएपछि नेपालको जितको आशा पनि समाप्त भएको थियो। उनी नवौँ विकेटका रुपमा पेभेलियन फर्किएका थिए।

    त्यसअघि नेपालका लागि ओपनर देव खनालले पनि २६ रन बनाए। उनले २२ बलमा चार चौका हिर्काए। छैटौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले २० रन जोडे। उनले २१ बलमा एक छक्का र दुई चौका हिर्काए। रिजन ढकाल ३५ बलमा १२ रन बनाउँदै अविजित रहे । नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अर्जुन कुमाल नौ रनमा आउट भए। भीम सार्की, आरिफ शेख र मौसम ढकालले त खातासम्म खोल्न सकेनन्। अर्जुन साउद चार रन बनाउँदै पेभेलियन फर्किए।

    कप्तान विनोद भण्डारी पनि नौ रनभन्दा अगाडि बढ्न सकेनन्। कमलसिंह ऐरी ६ रनमा आउट भए। नेपालले अतिरिक्त रुपमा १३ रन पायो। आयरल्यान्डका बलर म्याथ्यू हमफ्रेयसले पाँच विकेट लिए। लियाम म्याकार्थीले पनि चार विकेट हात पारे। नेपालका एक ब्याट्सम्यान रन आउट भएका थिए।

    त्यसअघि आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए। कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिएका थिए। कमलले ६.३ ओभरमा एक मेडन राख्दै केवल २१ रन खर्चिएका थिए।

    कमल ३९ औँ ओभर बलिङ गर्न आएका थिए। २३ वर्षीय मध्यमतेज गतिका बलर कमलले ३९औँ ओभरको पहिलो बलमा आयरल्यान्डका लियाम म्याकार्थीलाई साहब आलमद्वारा क्याच गराएका थिए। त्यसपछि ३९औँ ओभरको दोस्रो बलमा उनले आयरल्यान्डका म्याथ्यू हमफ्रेयसलाई बोल्ड गरेका थिए।

    त्यसलगत्तै अर्को बलमा कमलले आयरल्यान्डका बेन ह्वाइटलाई पनि बोल्ड गरेका थिए। साहब आलम र मौसम ढकाल पनि दुई–दुई विकेट हात पारेका थिए। रिजन ढकालले पनि आयरल्यान्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए।

    आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेलेका थिए। चौथो नम्बरमा क्रिज समाल्न आएका केडले टोलीको खातामा ५१ रन थपेका थिए। यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए।

    यसैगरी कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे। पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए। आयरल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन।

    ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२–१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे। उनले ३४ बलमा एक छक्का र एक चौका हिर्काए। आयरल्यान्डले अतिरिक्त रुपमा पनि सात रन पाएको थियो।

    नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ। दोस्रो एकदिवसीय शुक्रबार खेलिने छ। तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ। यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२–१ ले विजयी भएको थियो।