मकवानपुर– बागमती प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेशका नवनियुक्त ४ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्।
प्रदेश सरकारको मन्त्रीपरिषदमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता गठबन्धनबाट एमालेका ४ मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री जम्कट्टेलले एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
यसअघि सोमबार राती मात्र एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त भई मंगलबार बिहान शपथ ग्रहण गरेकी थिइन।
हालसम्म बागमतीमा मौजुदा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त भएका छन् । जसमध्ये मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा माओवादी केन्द्रका ४, एमालेका ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका १ मन्त्री नियुक्त भएका छन्।