आगामी आर्थिक वर्षको बजेट घट्ने - Chaitanya News
  • 2026-07-10
  • 13:03:59
  • शुक्रबार,आषाढ २६, २०८३
  • आगामी आर्थिक वर्षको बजेट घट्ने

    आगामी आर्थिक वर्षको बजेट घट्ने

    काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट घट्ने बताएका छन्। आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तय भए पनि वास्तविक बजेट भने १६ खर्ब ९४ अर्बको मात्रै हुने दाबी गरे।

    उपाध्यक्ष डा।श्रेष्ठले १८ खर्बको बजेट सिलिङमा १ खर्ब ६ अर्ब आगामी वर्ष सरकारले तिर्नुपर्ने ऋणको साँवा ब्याज तिर्नुपर्ने हुँदा १६ खर्ब ९४ अर्बको मात्रै मन्त्रालयहरूलाई बाँडफाँड गर्ने बजेट भएको उनको भनाइ छ।

    मङ्गलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सरकारले मन्त्रालयहरूलाई वितरण गर्दा केही मन्त्रालयहरूको धेरै र केहीको कमले बजेट घटेको जानकारी दिए।

    उनले बजेट घटाउनुपर्ने अवस्था भए पनि कामहरू धेरै गर्नुपर्ने भएको बताए। उपाध्यक्ष श्रेष्ठले बजेटलाई तीन समूहमा विभाजन गरी प्रस्ताव गरिएको बताए।

    श्रेष्ठले सरकारले राजश्व कर छलीको हकमा केही सुधार गरी राजश्व वृद्धि गर्नेगरी कामको थालनी गरेको बताए। सरकारको पुँजीगत खर्च गर्ने रकम अहिले ५ खर्ब भए पनि खर्च गर्ने क्षमता कम भएको कारण पुँजीगत खर्च बढाउनको लागि केही संरचनागत र विधिगत व्यवस्थाहरू अगाडी बढाएको उनको भनाइ थियो।

    ‘राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षको बजेटको सिलिङ १७ खर्ब ५१ अर्ब दिएका थियौँ। कार्यान्वयन भइरहेको छ। आगामी आर्थिक वर्षको लागि १८ खर्बको सिलिङ तय गरेका छौँ। यसरी हेर्दा ४९ अर्ब बजेटको सिलिङ बढेको छ। यो बढेको नभएर १ खर्ब ६ अर्ब आगामी वर्ष साँवा ब्याज बढी तिर्नुपर्ने हुँदा नेटमा १६ खर्ब ९४ अर्बको मात्रै मन्त्रालयहरूलाई बाँडफाँड गर्ने बजेट हो। त्यसकारण ५७ अर्ब यो वर्षको भन्दा आगामी वर्षको बजेट घटेको छ। त्यही अनुसार मन्त्रालयहरूलाई वितरण गर्दा केही मन्त्रालयहरूको धेरै र केहीको कमले घटेको छ।

    उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट १६ औं योजनाको पहिलो वर्ष भएकाले केही इन्टरभेन्टरका कार्यक्रमहरू अगाडि बढाएको बताए। उनले १६ योजनामा विगतका योजनालाई निरन्तरता दिनेभन्दा पनि उत्पादन र रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिइएको दाबी गरे। उनले सरकारले पूर्वाधार निर्माण गर्दा पनि उत्पादनसँग जोड्ने र विकासको मोडललाई नयाँ मोडलमा लैजान खोजिएको उल्लेख गरे।