वैदेशिक रोजगारीमा जानेहरूको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न माग - Chaitanya News
  • 2026-06-24
  • 11:49:36
  • बुधबार,आषाढ १०, २०८३
  • वैदेशिक रोजगारीमा जानेहरूको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न माग

    वैदेशिक रोजगारीमा जानेहरूको पारिश्रमिक एक लाख रुपैयाँ तोक्न माग

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोक्नुपर्ने बताएका छन्।

    आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको मासिक पारिश्रमिक एक लाख रुपैयाँ तोकिनुपर्ने बताएका हुन्।

    उनले फ्री भिसा फ्रि टिकट भनिए पनि दुई लाख रुपैयाँसम्म लिएर विदेश पठाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले देशभरका पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग पनि गरे।

    उनले भने, ‘पालिकाबाट सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्न माग गर्दछु। वैदेशिक रोजगारीमा फ्री भिसामा जानेलाई डेढ लाखदेखि दुई लाख लिएर पठाइरहेको छ। कतिले काम पाइरहेको छैन। भनेको कम्पनी पाइरहेको छैन। बेरोजगार भएर जेलमा बस्नुपरेको छ। सरकारले यसमा पहलकदमी लिओस्। विदेश पठाउँदा नेपाली दाजुभाइलाई महिनाको एक लाख तलब तोकियोस्।’