कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो - Chaitanya News
  • 2026-07-16
  • 19:33:04
  • बिहिबार,आषाढ ३२, २०८३
  • कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो

    कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो

    काठमाडौँ– पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको बताएका छन्। उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे।

    पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ। त्यो कुनै दलको हुनुहुँदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन्। उनीहरू आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उनले भने, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुँदैन।’

    उनले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए। ‘नागरिकहरू समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरवार भित्रै किन पस्न चाहन्छन्? त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रूप फेरिन्छ,’ उनले भने, ‘गाउँ गाउँमा सिंहदरवार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरू सिंहदरवारको गेटमा आउनुपरेको छ। यसको मूल्यांकन गर्‍यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन। अधिकार सिंहदरवार भित्रै छ।’ उनले नागरिकको तहमा संघीयताको अनुभूति नै हुन नपाएको दाबी गरे।

    पूर्वसचिव नेपालले हरेक पटक सरकार फेरबदल हुँदा आफ्नो फेभरमा काम गराउने प्रवृत्ति हाबी हुँदा छिटो छिटो कर्मचारी सरुवा गरिदिने, र नतिजा नआउने अवस्था रहेको बताए। ‘कुनै काम गर्नका लागि योजना बन्छ। बीचमा सचिव अर्कातिर हिड्छ। मन्त्री फेरिइसकेको हुन्छ। कामले पूर्णता पाएको देखिदैन,’ उनले भने, ‘सरकार फेरिनेबित्तिकै आफ्नो फेभरको कर्मचारी ल्याउनुपर्ने नेतृत्वको सोच छ। कर्मचारीले पनि त्यही गरेर बिकृतिलाई प्रोत्साहन गरिदिएका छन्।’