काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।
अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए।
मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइ सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे। सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।
‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु,’ अर्थमन्त्री पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ। यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।
मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सुझाए।
‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला,’ मन्त्री पुनले भने, ‘म तपाईँको अभियानमा सँगै हुने छु।