आज संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदमा नियुक्तिको तयारी - Chaitanya News
  • 2026-07-10
  • 14:19:23
  • शुक्रबार,आषाढ २६, २०८३
  • आज संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदमा नियुक्तिको तयारी

    आज संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त पदमा नियुक्तिको तयारी

    काठमाडौँ– संवैधानिक परिषद्को बैठक आज बस्दै छ। यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो। बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

    उनको सचिवालयका अनुसार परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बिहान ९ बजेका लागि बोलाइएको छ। यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन। बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुनेछ भने अन्य रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ।

    प्रधानमन्त्री दाहालले शनिबार विपक्षी दलका नेता देउवासँग छलफल गरेका थिए। सो छलफलमा सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए।

    प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ। संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ।

    नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन्। त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन्।