काठमाडौँ– नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ। आज (शनिबार) भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो।
२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो। अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्यो। योसँगै आयरल्याण्डले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ।
नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए। बमले १३ बलमा २५ रनको विस्फोटक इनिङ्स खेले। उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए।
त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए। उनले ७ चौका हिर्काएका थिए। कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको योगदान दिए।
मध्यक्रममा बासिर अहमदले २३ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन्। आयरल्याण्डका लागि बेन ह्वाइटले ४ ओभरमा २९ खर्चेर ३ विकेट लिए। त्यस्तै, फियोन ह्याण्ड र थोमस मोयसले २–२ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले पिटर मुर र निल रकको विस्फोटक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो।
आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले। उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए।
कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे। त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए।
नेपालका लागि सागर ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए। त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो। लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो।
बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको शतकीय पारी खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन। जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।