काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। आज (शनिबार) २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दैल उनले यस्तो बताएका हुन्। यस्तै उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ।
देश र जनतालाई केन्द्रमा राखेर आफू अगाडि बढेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “दायाँ कदम चाल्दा होस् या बाँया कदम चाल्दा होस्, क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको सङ्कल्प त्यही हो, आज पनि त्यही छ।
सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताए। आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्गसङ्घर्ष नै भएको बताए।
निराषा बाड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे। सरकारको पछिल्लो समीकरण रणनीतिक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यो समीकरण रणनैतिक छ, दूरगामी छ, मेरो विश्वास छ यो क्रान्तिकारी पनि छ। यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ।