काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन्। आज (शुक्रबार) हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै आफू एकतामा नजाने समेत बताए।
थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए। उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ छ।
राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मङ्सिर २०७३ मा पार्टी एकता भएको थियो। पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए।
एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए। पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्युँताएका थिए।
‘राप्रपासँग एकता गर्ने सोच छैन। सम्भावना पनि छैन। अब दोस्रो गल्ती गर्न म चाहन्नँ,’ थापाले भने।